ताजा अपडेट »

६ महिनामा ५० जना हराए, २,५९८ सवारी कारवाही

आइतबार, ०६ माघ २०७५, ०२ : ५३
4 Shares

माघ ६,
गुल्मी । गुल्मीबाट एक वर्षमा झण्डै १ सय भन्दा वढि मानिस हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार ५० जना मानिस हराएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को साउन देखि पुस मसान्त सम्ममा गुल्मीबाट महिला,वालवालिका गरी ५० जना जना मानिस हराएको निबेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो ६ मनिाको समिक्षा कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ३२ जना महिला, ७ जना बालक,११ जना बालिका हराएको बताए । हराएका मध्ये महिला २१ जना, बालक ७ जना,बालिका ९ जना फेला परेको बस्नेतले बताए ।


जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएको निबेदनको आधारमा ११ जना महिला र २ जना अझै पनि फेला नपरेको प्रहरीले जनाएको छ । वर्षेनी महिला, पुरुष, वालवालिका हराउने गरेका छन् ।
हराएका मध्ये धेरै जसो फेला परे पनि प्रहरीकहाँ जानकारी नगराउने गरेको प्रहरी उपरिक्षक (एसपी) बस्नेतले बताए । भेटिए पछी खबर नगर्नाले पनि प्रहरीको हराएको तथ्याङ्क रहिरने गरेको प्रहरीले जनाएको छ ।
६ महिनामा २,५९८ सवारी कारवाही
जिल्ला ट्राफिक कार्यालय गुल्मीले आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा २ हजार ५ सय ९८ वटा सवारी साधनमाथी कारवाही गरेको जनाएको छ । गएको साउनदेखि पुस सम्मको तथ्याङ्क अनुसार ट्राफिक नियम उल्लंघन गरी सवारी चलाए वापतजिप,बस,कार,मोटरसाइकल,ट्याक्टर,ट्रक लगायतका सवारी साधन कारवाहीमा परेका थिए । नियम बिपरित चलाएका सवारी साधनमाथी गरिएको कारवाहीमा रु.१५ लाख ५४ हजार राजश्व असुली गरि बैंकमा दाखिला गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम र सवारी दुर्घटना कारण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि बिद्यालय,चालक र सहचालक हरुलाई ९ पटक ७ सय ७९ जनालाई सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।


दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सुरु गरेको सचेतना कार्यक्रम गुल्मीमा प्रभावकारी ढङ्गबाट सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालनमा रहेको छ । दुर्घटना न्यूनिकरण गर्न भन्दै गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो । जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए । केहि महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुन लागु गरेका हुन् । दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछी यसलाई पुन सञ्चालनमा ल्याइएको छ ।


बाल श्रमिकको रुपमा लगाएका १५ जना बाल बालिकालाई उद्धार

जिल्ला प्रहरी कार्यालय गुलमीको जिल्ला बाल कल्याणसँग सहकार्य गरी रेसुङ्गा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टमा बाल श्रमिकको रुपमा लगाएका १५ जना बाल बालिकालाई प्रहरीले उद्धार गरेको जनाएको छ । प्रहरीले पछिल्लो आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनाको प्रगति सार्बजनिक कार्यक्रममा रेसुङ्गा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टमा बाल श्रमिकको रुपमा लगाएका बाल बालिकालाई अभिभावकलाई बोलाइ जिम्मा लगाईएको प्रहरी उपरिक्षक बस्नेतले बताए । उनले अब आइन्दा बालबालिकालाई त्यस प्रकारले नछाड्ने भनि अभिभावकलाई पनि सम्झाई बुझाई गरिएको बताए । त्यस्तै प्रहरी जिल्ला प्रशासन कार्यालय गुल्मीको सक्रियतामा बाबुले आमालाई कर्तव्य गरि मारी बिचल्लिमा परेका ३ जना बालबालिकाहरुलाई सम्बन्धित सरोकार वाला निकायको सहकार्यमा उद्वार गरि एसोएस बालगृह काठमाण्डौमा पठाइएको प्रगती कार्यक्रममा प्रहरी प्रमुख (एसपी) बस्नेतले सार्बजनिक गरेका थिए ।


१ सय ६९ वटा समुदाय प्रहरी साझेदारि समिति गठन


जिल्ला प्रहरी कार्यालय गुल्मीले समुदाय प्रहरी साझेदारि समिति जिल्ला कार्य समिति सहित १ सय ६९ वटा समिति गठन गरेको जनाएको छ । गएको साउन देखि पुस सम्ममा जिल्ला समिति १, नगरदपालिका समिति १२ वटा ,वडा समिति ८७ वटा, प्रहरी विद्यालय समिति ६९ वटा समिति गठन गरी सामुदायिक कार्यक्रमहरु सम्पादन भएको जनाएको छ । समिति मार्फत अवैध घरेलु मदिरा बरामद तथा नष्ट,. प्राकृतिक रुपमा उम्रेका गाँजा फडानि तथा नष्ट जस्ता कामहरु गरिएको प्रहरी प्रमुख (एसपी) बस्नेतले बताए । समितिले जिल्ला स्तरिय समुदाय प्रहरी समिति सहित पालिका समितिमा समुदाय प्रहरी साझेदारिता अवधारणा बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि समाजमा शान्ति सुरक्षामा कमि गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख (एसपी) दिपककुमार बस्नेतले बताए ।


जिल्लामा रहेका सामुदायिक १० वटा विद्यालय मा.वि तथा नि.मा.वि अध्यायानरत ७ सय ४९ जना बिद्यार्थिलाई साईवर सुरक्षा सम्बन्धि जनचेतनामुलक प्रशिक्षण प्रदान गरिएको (एसपी) बस्नेतले बताए । गएको साउन देखि पुस मसान्त सम्म १०हजार १सय ७७ लिटर कच्चा पदार्थ र ७ हजार २ सय ५४ लिटर मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको सार्बजनिक तथ्याङ्कमा उल्लेख छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानमा ३६ क्वीन्टल गाजा फडानी गरीएको जनाएको छ ।-अनिल खत्री/बुद्धभूमि

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।