ताजा अपडेट »

घरेलु रक्सीको विकल्प च्याउ खेती

आइतबार, ०६ माघ २०७५, ०३ : ०५
6 Shares

माघ ६,
बुटवल । गाउँमा च्याउ खेती थालिएपछि घरेलु रक्सी पार्ने काम कम भएको छ । सो कुरा तिनाउ गाउँपालिकाको वडा नं.३,अर्घाछाप च्याउ पकेट क्षेत्रमा च्याउ खेती गर्दै आएका महिला उद्यमीहरुले शनिवार एक कार्यक्रमका बीच बताएका हुन् ।


गाउँमा च्याउ खेती गर्दै आएकी अगुवा किसान दिलकुमारी रोकाले भनिन्–च्याउ खेती गर्दै आउँदा आर्थिक उन्नति भएको छ,स्वरोजगार बढेको छ,कसैका सामू ऋण काढ्न जानु परेको छैन,घर खर्चमात्र होइन च्याउको आम्दानीले शिक्षा,स्वास्थ्यमा समेत लगानी गर्न पाइएको छ,प्रतिष्ठाको काम गर्न पाएकोमा गौरवान्दित् हुने अवसर मिलेको छ ।


शनिवार अर्घाछाप च्याउ पकेट क्षेत्र उपभोक्ता समिति,तिनाउ गाउँपालिका वडा नं.३ का १३ जना च्याउ उद्यमी महिलाहरुले आयोजना गरेको च्याउ खेती उत्पादन र विस्तार सम्बन्धी छलफल कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका माननीय वसन्त घर्तिमगरले समाजवाद ल्याउने भाषणले मात्र होइन बरु अर्घाछाप गाउँका १३ जना च्याउ उद्यमी महिलाहरुले जस्तै च्याउ उत्पादन गर्दै गएमा आर्थिक उन्नति र प्रगति हुने,स्वरोजगारको वृद्धि भई जागिरमुखी प्रवृत्तिको अन्त्य हुने र दिदीवहिनीहरुले गाउँमै उद्यम गरेर नमूना उद्यमी बन्न समेत सक्ने भएको हुँदा च्याउ खेतीलाई स्थानीय तथा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्न सकिने बताए ।


कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले स्थानीय महिलाहरुले गरेको उन्नतशील च्याउ उत्पादन कार्यक्रमले आफ्नो गाउँपालिकालाई च्याउमा आत्मनिर्भर गराई कृषिमा फड्को मार्न सकिने बताए । सोही कार्यक्रममा तिनाउ गाउँपालिकाका वडा नं.३ का वडाध्यक्ष प्रेम पाण्डेयले आफूहरुले गएको वर्ष एक लाख र यस आर्थिक वर्षमा च्याउ खेतीलाई प्रोत्साहन गर्न दुईलाख वजेट विनियोजन गरेको बताउँदै आफ्नो वडालाई च्याउ पकेट क्षेत्र बनाई पालिकाकै नमूना कृषि क्षेत्र बनाउन आफू कम्मर कसेर लागेको बताए ।


सोही अवसरमा सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले च्याउप्रति धेरैको विश्वास रहन नसकेको र च्याउ खाँदा मरिन्छ कि भन्ने त्रास आजपनि रहेको हुँदा सो कुरालाई मेट्न च्याउको गुणस्तर कायम गर्नु पर्ने,च्याउ खान उपयुक्त छ भनेर सम्बन्धित निकायबाट ट्याग लगाउनु पर्ने,च्याउ उत्पादनलाई वृद्धि गर्दै बजारीकरणमा ध्यान दिनु पर्ने,च्याउ व्यवसायीहरु तयार गर्नुपर्ने र विज्ञापनलाई समेत प्राथमिकता दिनु पर्नेमा जोड दिए ।


सो कार्यक्रममा कृषि प्राविधिक हेमन्त शर्मा, हेफर इन्टरनेशनलका अनन्त सिलवाल,दोभान कृषि बहुउद्देश्यीय सहकारीका अध्यक्ष चोपलाल गिरि,सामुदायिक वन समन्वय समितिका अध्यक्ष अमर प्रधान,तिनाउ सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर भाट,दोभान प्रहरी चौकीका इन्चार्ज एक्क बहादुर नेपाली,च्याउ उत्पादकहरु नैना क्षेत्री,गंगबहादुर पुन,टुकामाया थापा लगायतले च्याउ खेती,यसको विस्तार,बजारीकरण र यसमा देखापर्ने समस्याहरुका सन्दर्भमा आआफ्ना विचार प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।