ताजा अपडेट »

''स्वास्थ्यको प्रणालीमाथि नै अन्याय हुँदा चूप बस्न सकिन''

शनिबार, ०५ माघ २०७५, १७ : ४३
4 Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवा र प्रशासनतर्फका दुई जना सचिव छन् यतिबेला। सरकारले स्वास्थ्य मन्त्रालयबाट डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। तर, सचिव चौधरीले दरबन्दी नै नभएको स्थानमा सरुवा गरेको भन्दै उक्त निर्णयविरुद्ध सर्वोच्च अदातलमा मुद्दा हालिन्। अदालतले डा चौधरीकै पक्षमा आदेश जारी ग¥यो। तर, सरकारले अदालतको आदेश आउनुअघि नै प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई पनि स्वास्थ्य सचिवका रुपमा पठायो। जसका कारण मन्त्रालयमा अहिले दुई जना सचिव छन्। अदालतको आदेशबाट पुनः मन्त्रालय फर्किएकी सचिव चौधरीसँग स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाल र कल्पना पौडेलले यही सेरोफोरमा रहेर कुराकानी गरेका छन् :



सरकारले गरेको सरुवाविरुद्ध सर्वोच्च अदालत नै जानुपर्ने अवस्था कसरी आयो? 
म नियम, कानुन र व्यवस्था मान्ने व्यक्ति हुँ। कानुनभन्दा माथि कोही पनि छैन। कानुन सबैका लागि हो। नियमित रुपमा मन्त्रालयमा आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको समयमा स्वास्थ्य सेवा ऐनविपरीत मलाई सरुवा गरियो। यो कानुनविपरीत भयो भन्ने लाग्यो। त्यसपछि म न्यायका लागि अदालत पुगेकी हुँ। न्यायोचित काम नभए कानुनी शरणमा जाने सबैको अधिकारको कुरा हो। फेरि यो एक जना व्यक्तिको विषय पनि होइन।

एउटा संस्थाको रुपमा स्वास्थ्य सेवा ऐनले दिएको अधिकारको संरक्षणको लागि पनि अदालतमा जानुपर्ने बाध्यता भयो। यो बीचमा निकै तनाव पनि भयो। संर्घष थियो। एउटा सिद्धान्तको लागि लड्दा त्यति सजिलो हुँदैन। धेरैथरीको दबाब आउँछ। नैतिक र सामाजिक दबाब पनि थियो। ठूलो तहका कर्मचारीले सरकारसँग लड्न हुँदैन भन्ने प्रश्न पनि आएका थिए। तर, स्वास्थ्य मन्त्रालयको एउटा प्रणालीमाथि नै अन्याय भएको विषयमा म चूप लाग्न सकिनँ। अन्ततः सत्यको नै जित भयो। मैले मात्र होइन, स्वास्थ्य मन्त्रालयको नै जित हो। समग्र स्वास्थ्यकर्मीको जित हो यो।

तपाईं पुनः मन्त्रालयमा आउनुभएपछि अहिले दुई सचिव हुनुहुन्छ, कामको जिम्मेवारी र अधिकार कसरी पाउनुभएको छ?
स्वास्थ्यमन्त्रीसँग यो विषयमा कुराकानी भइसकेको छ। उहाँले सरकारले भ्याकेटको लागि हालेको निवेदन सफल नभएपछि अदालतको आदेशलाई सम्मान गर्दै जिम्मेवारी दिने कुरा गर्नुभएको छ। अदालतमा मुद्दा चलिरहेको समयमा सरकारले अर्को एक जना पनि सचिव पठाएका कारण यहाँ दुई जना सचिव भएका हौं। अहिले दुई सचिवको व्यवस्थापन गर्ने कुरा भएको छ। सुरुमा दुई सचिवको लागि बस्ने कोठाको समस्या थियो। त्यो समाधान भयो। अब केही दिनमा कामको बाँडफाँड गरिदिने कुरा गर्नुभएको छ। 

स्वास्थ्य मन्त्रालयमा विगतमा पनि दुई सचिवको व्यवस्था हँुदा विवाद र समस्या भएका थिए। अहिले फेरि दुई जना नै सचिवको व्यवस्था गरिएको छ, अब कसरी काम हुन्छ?
पहिले किन द्वन्द्व हुन्थ्यो त्यो विषयमा म कमेन्ट गर्न चाहन्नँ। किनकि म त्यो समय मन्त्रालयबाहिर थिएँ। समस्या आयो भनेर नै दुई जना सचिव राख्ने व्यवस्था हटाइएको भन्ने सुनिएको थियो। अब अहिले फेरि पनि दुई सचिव भएका छौं। मन्त्रीज्यूले दुई जनालाई नै न्यायोचित रुपमा कार्यविभाजन गरेर दिने कुरा गर्नुभएको छ। समझदारीमा व्यवस्था स्थापित गर्ने कुरामा सचिवले सघाउनुपर्छ भन्ने मन्त्रीज्यूको आसय छ। त्यसकारण विवाद र टकराव आउनेभन्दा पनि मिलेर अगाडि बढ्ने कुरामा हामीले सोच्नुपर्छ।
हामी सबैको चाहना भनेको प्रणाली राम्रो बनाउने, जनताको स्वास्थ्यका लागि काम गर्ने न हो। विवाद निकाल्ने र झगडा गर्ने काम गर्नुहुँदैन। हुन त, यस मन्त्रालयमा धेरै इन्टे«स भएका व्यक्तिहरु छन्। उनीहरुले आफ्नो काम निकाल्न आपसमा द्वन्द्वको वातावरण सिर्जना गर्ने सम्भावना धेरै छ। यो कुरा हामीले राम्ररी बुझेका छौं। विगतमा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा समूहकै दुई जना सचिव थिए। तर, अहिले प्रशासन र स्वास्थ्यको गरी दुई सचिव भएको हो। दुई समूहका दुई सचिव भए पनि सामञ्जस्य र समझादारीमा मिलेर काम गर्नुपर्छ। अहिलेको आवश्यकता पनि त्यही हो।

सरकार, स्वास्थ्यका कर्मचारी र तपाईंबीचमा किन विवाद बढ्यो, तपाईंको काममा पनि प्रश्न उठाइएको छ नि?
मेरो कामको विषयमा कसले उठायो प्रश्न ? मलाई त कसैले उठाएको छैन। विवादित बनाउने राजनीतिक विषय हो। स्वास्थ्यमा प्रशासनको सचिव ल्याउन सात–आठ महिनादेखि नै प्रयास भएको हो। त्यसैले यो नकारात्मक वातावरण सिर्जना गरिएको हो। सरकारले के कारणले मलाई सरुवा गरेको हो त्यो स्पष्ट थाहा भएन। मेरो  जिम्मेवारीबाट सन्तुष्ट नभएकोले सरुवा भएको कुरा त सरकारले अहिलेसम्म गरेको छैन। यो कुरा त मिडियामा मात्र आएको हो। मिडियामार्फत मलाई विवादमा ल्याउने काम मात्र भएको हो। मलाई त सरकार र स्वास्थ्य मन्त्रीबाट कामका बारेमा प्रश्न उठाइएको छैन। लिखित रुपमा केही स्पष्टीकरण सोधिएको भए पो। तर आजसम्म त्यस्तो त भएको छैन। 

तपाईंप्रति कर्मचारीहरुको नै गुनासो, असन्तुष्टि त छ नि। कर्मचारीलाई विश्वास गर्नुहुन्न भन्ने गुनासो सुनिन्छ। 
सचिवको कुर्सीमा बस्नेले समस्या र गुनासोको समाना गर्नैपर्छ। फेरि हामी महिला अझ बढी कामको कुरामा अनुशासित हुन्छौं। कुनै कुरालाई व्यवस्थित गर्न लाग्दा असन्तुष्टि र गुनासो आउनु स्वभाविक हो। स्वास्थ्यको सचिवलाई हटाएर प्रशासन समूहको सचिव बनाउन नकारात्मक वातावरण पैदा गरिएको हो। प्रक्रिया पूरा नगरी ल्याइएको फाइल फिर्ता गरेपछि र फाइलहरुमा गहन रुपमा अध्ययन गर्दै स्पष्टता खोजेपछि गुनासो आउनु स्वभाविक नै भयो। म नियम, प्रक्रियाबाहेक काम नगर्ने तर केही व्यक्तिहरु त्यसविपरीत जान खोज्ने समस्या त्यही निम्तिएको हो।
कुनै पनि कुराको निर्णय गर्दा स्पष्टता त चाहियो नि। निर्णयकर्तालाई दोष दिन सजिलो छ। तर किन फाइल फर्कियो भन्ने कुरामा बुझ्नुप¥यो नि। प्रशासक नियमविपरीत जान मिल्दैन। यो पद नै यस्तो हो। सबैको चित्त बुझाउन सकिँदैन। अर्को व्यावहारिक कुरा के हो भने, सचिवका रुपमा मेरो लामो अवधि भएकोले पनि मलाई विवादमा ल्याउने र हटाउने खेल सुरु भएको हो। 

मन्त्री र तपाईंबीचमा दूरी छ भन्ने सुन्निछ, यो बेलामा स्वास्थ्यको संरचना व्यवस्थित गर्न कसरी काम गर्नुहुन्छ? 
म र मन्त्रीबीच कहिले पनि विवाद वा समस्या थिएन र छैन। यो मनगणन्ते कुरा हो। जहाँसम्म स्वास्थ्यको संरचनाको कुरा छ, त्यो बेला हामीलाई सकेसम्म सानो आकारमा संरचना बनाउन निर्देशन थियो। अर्को के पनि आवश्वासन दिइएको थियो भने, अहिले बनाएर अघि बढ्ने, पछि काम गर्दै सुधार गर्दै जाने भनिएको थियो। हामीले सोहीअनुसार बनायौं। व्यवहारमा जाने बेलामा केही समस्या देखियो। त्यो सच्याउँदै जाने हो। संघीयताको अभ्यास नै नयाँ भएकाले काम गर्दै सुधार गर्दै जाने भन्ने नीति छ। एकदम राम्रो बनाउँछु भनेर पनि सकिँदैन। संघीयतामा धैर्य राख्नुपर्छ। संरचनामा पुनरावलोकन भइरहेको छ। त्यो काम हुन्छ। सकेसम्म सबैको समस्यालाई समाधान गर्नेगरी अगाडि बढ्ने हो।

भर्खरै सम्पन्न स्वास्थ्यको वार्षिक समीक्षामा स्वास्थ्यका धेरै सूचांक घटेको देखियो, सुधार्न के गर्नुपर्छ? 
स्वास्थ्यको संरचना परिवर्तन भएअनुसार काम गर्न केही समस्या भएको छ। स्थानीय तहमा कामको जिम्मेवारी कसरी गर्ने भन्नेमा अलमल हुँदा यस्तो अवस्था आएको हो। अहिलेको संक्रमणकालीन अवस्थाले काममा प्रभाव परेको पक्कै हो। अब यी समस्याको पहिचान गर्दै सुधार गर्दै जानुपर्छ। अब प्रदेश कार्यालय नै त्यहाँको स्वास्थ्य सेवा विभाग हो। ती कार्यालयलाई अझ बढी बलियो र सक्षम बनाउनुपर्छ। ती कार्यालयलाई प्रभावकारी र सक्षम नबनाउने हो भने समस्या बढ्छ। पुरानो संरचनामा स्वास्थ्य सेवा विभाग रहेजस्तै हरेक प्रदेशमा स्वास्थ्य निर्देशनालय बनिसकेको छ। त्यसकारण अब कामको रफ्तार अगाडि बढ्छ भन्ने विश्वास लिएको छु।

तपाईंलाई मन्त्रालयमा एकलौटी काम गर्नुहुन्छ, टिमवर्कमा विश्वास गर्नुहुन्न भन्ने अरोप छ नि?
म वर्कओरेन्टेट मान्छे हो। चियरओरेन्टेट होइन। कुनै पनि काममा म खटिएर इमान्दारिताका साथ काम गर्ने गर्छु। यहाँ मन्त्रालयमा केही भेस्टेड इन्ट्रेस्ट भएका मानिस पनि छन्। जो कामभन्दा पनि पद र कुर्सीमा बढी ध्यान दिन्छन्। त्यसकारण सहजै सबैलाई विश्वास गर्न सक्दिनँ। काम गर्नेसँग मेरो कुरा मिल्छ। काम नगर्नेसँग त मिल्दैन नि। टिम बनाएर काम नै नगर्नेभन्दा बरु आफू एक्लै खट्दा राम्रो हो नि। तपाईंको टिम छ तर काम चाहिँ भएन भने त राम्रो भएन नि। म काममा विश्वास गर्छु। त्यसकारण मलाई काम गर्न यही मान्छे हुनुपर्छ भन्ने छैन। म जोसँग पनि काम गर्न सक्छु। तर मन्त्रालयमा विश्वास गर्ने मानिसको कमी छ। त्यसैले पनि यस्तो भएको हो। विश्वासनीय मानिस हुने हो भने मलाई टिम बनाएर काम गर्न समस्या छैन। मैले पहिले पनि लिडरसिप गरेको हो। म प्रसूति गृह, स्वास्थ्य सेवा विभागमा रहँदा यस्तो समस्या आएन। मन्त्रालयको काम गराइको प्रकृति फरक छ। 

कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्यका कर्मचारीको असन्तुष्टि छ, तपार्इंको धारणा के छ ?
स्वास्थ्यका ट्रेड युनियनका साथीहरुले उठाएका कुरा ठिक छन्। ऐन विभेदकारी ढंगबाट आएको छ। कर्मचारीको मनोबल कमजोर पारेर प्रभावकारी सेवा दिन सकिँदैन। पहिले दिएको सेवा–सुविधा पनि कटौति गरिएको छ। अझ जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा–सुविधा बढाउनुपर्ने थियो। तर त्योअनुसार भएको छैन। समायोजनमा गएपछि संघमा फर्किनसक्ने बाटो खुला हुनुपर्छ। यो कुरा माथिल्लो तहबाटै अस्पष्ट भएर आएको छ। यसमा संशोधन गर्नैपर्छ।

स्वास्थ्य समूहको सचिव हुँदा मन्त्रालयको काम प्रभावकारी हुन सकेन, त्यसैले प्रशासनकै सचिव चाहिन्छ भन्ने कुरा उठेको छ नि ?
स्वास्थ्य मन्त्रालयमा विगतमा आएका प्रशासनका सचिवले पनि उल्लेखनीय काम गरेको इतिहास त छैन। यो सबै स्वास्थ्य सेवालाई कमजोर बनाउने कुरा मात्र हो। आरोप लगाउनका लागि त जे भन्दा पनि भयो। अर्को कुरा, स्वास्थ्यका सचिवलाई प्रशासन र लेखाबाट जुन हिसाबको सहयोग र व्याकअप हुनुपर्ने हो त्यो नहुँदा केही समस्या भने आएको हो। तर, स्वास्थ्यका सचिवले प्रभावकारी काम गरेन भन्नु सरासर गलत हो। यो नचाहिँदो आरोप मात्र हो।-स्वास्थ्यखवरबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।