ताजा अपडेट »

प्रथम रेडियो मुक्ति महिला फुटसल सुरु,पहिलो खेलमा पत्रकार विजयी

विहीबार, २७ फागुन २०७७, १८ : ३३
14 Shares

बुटवल । ‘महिला सशक्तिकरणका लागि खेकूद’ भन्ने मूल नाराका साथ प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७७ विहिबारदेखि बुटवलमा सुरु भएको छ । ‘सचेत नारी, सचेत परिवार हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित महिलाहरुद्वारा बुटवलमा सञ्चालित रेडियो मुक्तिद्वारा अयोजित प्रतियोगिताको उद्घाटन खेलमा पत्रकार महिला समूह विजयी भएको छ ।

जिल्लामा रहेका विभिन्न महिला समूहहरु बीच हुने मैत्रीपूर्ण फुटस प्रतियोगिता अन्तरगत बिहीबार भएको मैत्रीपूर्ण खेलमा महिला पत्रकार समूहले एकल महिला समूहलाई २–१ गोल अन्तरले विजयी भएकोे हो । पत्रकार महिला समूहकातर्फबाट कमला अर्यालले २ गोल गर्दै जीत दिलाएकी हुन् । खेलको पहिलो हाफमा एकल महिला समूहकी रिता सेनले गोल गर्दै अग्रता कायम गरेपनि दोस्रो हाफमा फितलो प्रदर्शनका कारण पराजय व्यहोर्नु परेको थियो ।

आयोजक रेडियो मुक्तिसहित एकल महिला समूह, पत्रकार महिला, अधिवक्ता महिला, सामाजिक अभियान्ता, सहकारी महिला समूह, उद्यमी महिला समूह, कर्मचारी महिला समूह, निजामति कर्मचारी महिला समूह, स्वास्थ्यकर्मी महिला तथा राजनीतिक तथा सांसद महिलाहरु गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद १० हजार ५ सय पुरस्कार राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टिमले नगद ५ हजार पुरस्कार राशी प्राप्त गर्ने कार्यक्रम संयोजक अमृता अनमोलले जानकारी दिइन् । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

बिहीबार प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकूद विकास परिषदका सदस्य सचिव रमेश सिलवालले खेलको माध्यमबाट महिलाहरु बीच सशक्तिकरण र आपसी सद्भाव कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । महिलाहरु चुलोचौकोबाट बाहिर निस्किएर आफूलाई सशक्तिकरण गर्दै लैजानु पर्ने बताउँदै त्यसका लागि नियमित रुपमा विभिन्न गतिविधिहरु सञ्चाल गरिरहन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले प्रतियोगिताले महिलाहरु बीचको आपसी सद्भावसँगै शारीरिक स्वस्थतामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । यसैगरी महिलाहरुलाई खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमकी संयोजक अमृता अनमोलले बताइन् ।

रेडियो मुक्तिकी स्टेशन म्यानेर कल्पना तिवारीको सञ्चालन भएको उद्घाटन समारोहमा पूर्व अध्यक्ष सावित्रा अर्यालले धन्यवाद ज्ञापन गरेकी थिइन् । ग्लोबल आवाज अनलाइन, राज्य टेलिभिजन र बुटवल टुडे राष्ट्रिय दैनिक मिडिया पाट्नर रहेको प्रतियोगिताका बाँकी खेल शनिबार बुटवल–११ देविनगरको ग्रिन फुटसल ग्राउण्डमा हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।