ताजा अपडेट »

मिस डायमण्ड नेपाल ‘सुन्दरी सरोज’

बुधबार, २६ फागुन २०७७, १९ : २०
24 Shares

सरोज न्यौपाने,झट्ट सुन्दा कसैले पनि महिलाको कल्पना गर्दैन। तर, तिनै सरोजले मिस नेपालको ताज जितेका छन् । पुरुषले मिस नेपालको ताज जिते भनेर अचम्म मान्नु पनि पर्दैन । उक्त उपाधि मिस डायमण्ड नेपालको हो । अर्थात् समलिङ्गी तथा तेस्रो लिङ्गीहरु बीचको प्रतिष्पर्धाबाट उनले ताज जितेका हुन् । उनी पुरुषको रुपमा जन्मेपनि महिलाको स्वभाव, चाहना र परिचयमा सन्तुष्ट छिन्।

उनको परिचय थप शसक्त भएको छ । उनी अब मिस डायमण्ड नेपालको परिचयले परिचित र प्रवद्र्धन हुँदै छिन्। प्रायः नारीलाई सुन्दरताको प्रतिकका रुपमा र आवरणलाई पनि हेरिने गरिन्छ । हो उनी सुन्दर छिन् । उनको विचार सुन्दर छ । भर्खरै १७ वर्ष पार गरेर १८ वर्षमा लागेकी सरोज जवान मात्रै होइन सुन्दर र बौद्धिक छन् भन्ने त उनी विजेता बनेर प्रमाणित गरीसकेकी छन् ।

लामो कपाल, अनुहारमा मेक अप र सोही अनुासरको चमक, अझै उनको मुस्कुराएर बोल्ने बानीले उनको सुन्दरतामा सुगन्ध थपेको छ । कक्षा १२ मा अध्ययन गर्ने उनी आफ्नो सुन्दरता र व्यक्तित्वलाई निकै व्यवस्थापन गर्दछिन् । एक जवान युवकको शरीर, आवरण र परिचयबाट जवान युवतीको प्रस्तुतती, आचरण, व्यवहार र व्यवस्थापन पक्कैपनि सहज र सरल छैन । तर, उनले त्यसलाई सरल रुपमा प्रस्तुत गरेकी छन्। यसका लागि असहज, अफ्ठ्यारा र चूनौतीहरु थिए र अझै छन् पनि । झनै मिस डायमण्डको उपाधि जितेपछि उनीमा चूनौती थपिएका छन् ।

वि.सं.२०६० सालमा गुल्मीमा जन्मेका सरोज न्यौपाने परिवारका कान्छा छोराको रुपमा जन्मेका थिए । उनी बालक छँदा नै बालिकाको स्वभाव थियो । केटा साथीहरुसित नभई केटी साथीहरुसँग मिल्ने, खेल्ने गरेको उनी बताउँछिन् । केटी साथीहरुसँग चुन्नी, भाँडाकुटी जस्ता खेल्दै हुर्केकी उनीमा सोही अनुसारको स्वभाव र चाहनाहरु स्थापित हुँदै बढ्दै गएको बताइन् । जन्मेको २ वर्षपछि परिवार सहित रुपन्देहीको तिलोत्तमामा आएकी सरोज प्यारामाउण्ट बोर्डिङ स्कूलमा भर्ना भइन् ।

सोही विद्यालयबाट एसइई उत्तिर्ण गरिन् । उमेर बढेसँगै उनको स्वभाव पनि खुल्दै जाँदा विद्यालयमा निकै गार्हो भएको उनको तितो अनुभव छ । छात्राको स्वभाव र विशेष्ता हुँदाहुँदैपनि छात्रसँग बस्नुपर्ने उनको बाध्यता थियो । सोही क्रममा आफ्ना सहपाठीहरु मात्रै होइनन् गुरु मानिने शिक्षित तथा अग्रज शिक्षकहरुले पनि उनलाई अस्वभाविक मान्दै गरेको असहज व्यवहार कहिल्यै नभुल्ने उनी बताउँछिन् । ‘म केटाहरुसँगनै बस्न पथ्र्यो, मलाई मेरा साथी र सर-म्याडमहरुले अर्कै नजरले हेर्नुहुन्थ्यो त्यही अनुसार बोल्नु हुन्थ्यो । त्यो अवस्था मेरो लागि निकै अफ्ठ्यारो र चूनौतीपूर्ण पनि थियो ।’

उनी अध्ययनमा लगनशिल भएको बताउँछिन् । तर, विद्यालय स्तरमा भने राम्रो र सहज व्यवहार र वातावरण नपाउँदा क्षमता अनुसारको स्थान र अंक प्राप्त नगरेको उनको गुनासो छ । हाल न्यू होराइजन कलेज, ड्राइभरटोलमा व्यवस्थापन संकायमा कक्षा १२मा अध्ययनरत उनी सो कक्षाको उत्कृष्ट विद्यार्थी हुन् । कलेजमा भने विद्यालयमा जस्तो असहज नभएको उनी बताउँछिन् । ‘म कलेज भर्ना भएदेखि प्रथमबाट दोस्रो भएकी छैन । कलेजमा सबैलाई थाहा छ । सबैले मायालु व्यवहार गर्नुहुन्छ । म केटीहरुसँग बस्छु । मलाई केटा तथा केटी साथीहरु मात्रै होइन । सरहरु लगाएत सबैले राम्रो र मायालु व्यवहार गर्नुहुन्छ ।’ उनले भनिन् ।

२ दाजुका भाईका रुपमा जन्मेपनि बहिनी बनेकी उनलाई घरमा भने राम्रो समर्थन र साथ हुँदै आएको छ । उनले छोरीको चाहना पूरा गरेको परिवारले अनुभूति गर्ने बताइन् । लामो समयसम्म शंकरनगर बसेर हाल मणिग्राममा बस्दै आएकी उनलाई समाजले पनि समान व्यवहार गरेको बताउँछिन्। उनले भनिन् ‘सामान्यतया हामीजस्तालाई समाजले हेर्ने दृष्टिकोण नराम्रो हुने गर्दछ । तर,मलाई परिवार र समाजबाट राम्रो व्यवहार छ । पहिले बस्ने ठाउँमा भन्दा यहाँ झन् सहज छ । तिलोत्तमा नगरपालिका धेरै शिक्षित छ। यहाँको विकास अनुसार वातावरण र व्यवहार पनि असल छ।’

आफूले मात्रै राम्रो व्यवहार पाएर नहुने भन्दै उनी असन्तुष्ट जनाउँछिन्, आफ्ना समूहका धेरै व्यक्तिहरु पछाडि परेको, दुर्व्यवहारको शिकार हुनु परेको र निकै अपमानित जीवन बाँच्नुपरेको बताउँदै उनीहरुको हकअधिकार र विकासमा काम गर्ने उनको अठोट छ । ‘समलिङ्गी, तेस्रोलिङ्गी वा अल्पसंख्यकहरुलाई अझैपनि भेदभाव गरिन्छ । असामाजिक व्यवहार गरिन्छ । २१औं शताब्दीमा पनि लिङ्ग र स्वभावका आधारमा विभेद गर्नु गलत हो । सबैले समान सम्मान र अवसरहरु प्राप्त गरेर स्वतन्त्र बाँच्न पाउनु पर्छ । देशको कानूनमा सबै नागरिकलाई बराबर भनेपनि त्यस्ता समूहका व्यक्तिलाई गैरनागरिक जस्तो व्यवहार गरिन्छ । सो विरुद्ध मेरो प्रयास र अभियान निरन्तर रहने छ ।’

तेस्रोलिङ्गी तथा समलिङ्गीहरुको अधिकार र विकासमा लाग्ने उनको लक्ष्य छ । २१ औं शताब्दीमा पनि लिङ्गका आधारमा हुने भेदभावप्रति उनको कडा विरोध छ । तिष्ण बुद्धी भएकी उनी अध्ययनमा अब्बल छिन् । उनको पहिलो प्राथमिकतमा पनि अध्ययनमा छ । फेसबुक, इन्स्ताग्राम, टिकटक लगाएतका सामाजिक सञ्जालमा पनि उनी सहभागी र सक्रिय छिन् ।मिस डायमण्डमा सहभागी हुनुपूर्व उनी साहसी कदम नेपालमा आवद्ध थिइन् । पुनःआवद्ध भएर सो संस्थाको काम र लक्ष्यसहित अघि बढ्ने उनको योजना रहेको छ ।

उनको आवरण हेर्दा (केटाको रुपमा) निकै हेन्डसम छन् । उनी त्यतिनै व्यूटिफुल छिन् (महिलाको रुपमा) । त्यसैले उनका केटा र केटी दुबै लिङ्गीहरु पनि धेरै साथी छन् । तेस्रोलिङ्गीहरु बीच त उनी सबैभन्दा सुन्दर प्रमाणित भइसकेकी छन् । रुपन्देही,बुटवलबाट नै परिचित उनी भविष्यमा पनि यहीँ रहेर काम गर्ने बताउँछिन् ।

उनी अघि सन् २०१६ मा सम्पन्न मिस डायमण्ड नेपालको उपाधि रेशम न्यौपाने (रेष्मा डार्लिङले जितेकी थिइन् । विशेष कारणवश स्थगति उक्त प्रतियोगिताको दोस्रो संस्करणको विजेता सरोज बनेकी हुन् । उनी यस क्षेत्रकै कान्छी तेस्रोलिङ्गी महिलाको रुपमा पनि परिचित छन् । प्रतियोगिताको आयोजक संस्था साहसी कदम नेपालकी अध्यक्ष आनिक रानाले सरोजले धेरै तेस्रो तथा समलिङ्गीहरुको प्रतिनिधित्व गर्दै उनीहरुको विकासमा योग्दान पुर्याउनेमा विश्वस्त रहेको बताइन् ।

https://www.globalaawaj.com/archives/87215
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।