ताजा अपडेट »

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

आइतबार, २३ फागुन २०७७, १५ : ०८
14 Shares

महेन्द्रनगर। कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ । प्रशिक्षण केन्द्रको टोलीले सेनालाई २–१ सेटको अन्तरले पराजित गरेको हो ।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टको पहलमा केही समयअघि निर्माण सम्पन्न भएको बीच भलिबल कोर्ट सुदूरपश्चिमकै पहिलो भएको जिल्ला भलिबल सङ्घले जनाएको छ । त्यसैगरी सेनाले यहाँ सैनिक दिवसकै अवसरमा पुरुष तथा महिला मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ ।

पुरुष भलिबलमा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले सेनाको श्री नं २५ बाहिनी अड्डाको टिमलाई सोझो दुई सेटले पराजित गरेको छ । त्यसैगरी महिला भलिबलमा भने सेनाको टोलीले भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई पराजित गरेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले उद्घाटन गरेको मैत्रीपूर्ण खेलमा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष हेमविक्रम थापाले प्रशिक्षण केन्द्रलाई खेल सामग्री प्रदान गरेका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले प्रमाणपत्र प्रदान गरे । उनले सैनिक दिवसका अवसरमा यहाँ साताव्यापी स्वास्थ्य शिविर र विभिन्न मैत्रीपूर्ण खेलकूद आयोजना गरिनुका साथै राउटे, असहाय, विपन्न तथा वादी समुदायलाई खाद्य तथा कपडा वितरण गरिनेक्रम जारी रहेको जानकारी दिए ।

सेनाले शनिबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा आयोजना गरेको निः शुल्क स्वास्थ्य शिविरबाट स्थानीय ७०० भन्दाबढी लाभान्वित भएका थिए ।

रासस
लेखकको बारेमा
रासस