ताजा अपडेट »

पुनर्स्थापित संसद्‍को पहिलो बैठक आज बस्दै, यस्तो छ कार्यसूची

आइतबार, २३ फागुन २०७७, ०७ : ४८
4 Shares

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो पटक आइतबार बैठक बस्न लागेको हो । बैठक अपराह्न ४ बजे बस्दैछ । 

अधिवेशन सुरु भएपछि अन्त्य हुने अवधिसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने वा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे त्यसमाथिको कारबाही अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले राजीनामा नदिए विभाजित नेकपाको प्रचण्ड नेपाल पक्षले संसद् अधिवेशनमा अविश्वासको प्रस्तावबाट वा अन्य विकल्पबाट प्रधानमन्त्रीबाट ओलीलाई हटाउने रणनीति अघि सार्दै आएको छ । 

दुवै पक्षलाई निर्णयमा सफलता प्राप्त गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी जसपाको मत आवश्यक छ। त्यसमा ७७ सिटभन्दा कम कसैको नभएको खण्डमा कांग्रेसले दिएको समर्थन निर्णायक बन्नेछ। कांग्रेस र जसपाले समर्थन गरे नेकपाबाट ४५ सिट भए पुग्छ। संसद्मा बहुमत पुग्न १ सय ३८ सदस्यको समर्थन आवश्यक पर्छ।

संघीय संसदको सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि सभामुख सापकोटाले नै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा सुनाउने छन् । सम्भावित कार्यसूचीको तेस्रो नम्बरमा सभामुख सापकोटाले नै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।  

आजको बैठकमा सरकारले संसद् सञ्चालन नभएको अवस्थामा जारी गरेको अध्यादेश २०७७, पनि पेस हुनेछ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश २०७७, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासयनिक पदार्थसम्बन्धी अध्यादेश २०७७, औषधी (तेस्रो) संशोधन अध्यादेश, फौजदारी कसुर तथा फैजदारी कार्यविधिसम्बन्धी अध्यादेश, यौन हिंसाविरुद्धसम्बन्धी अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश संसद्मा पेस हुने छ । बैठकमा बैठक सञ्चालन नहुँदाको अवधिमा निधन भएका पूर्वसांसद र संविधानसभाका सदस्यहरुको शोकसभासमेत राखिएको छ । प्रतिनिधिसभाको सांसद सानु शिवा, प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीलगायत १४ जनाको निधन भएकोप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।