ताजा अपडेट »

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

शुक्रबार, २१ फागुन २०७७, २२ : ००
2 Shares

भरतपुर । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए । यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए ।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

रासस
लेखकको बारेमा
रासस