ताजा अपडेट »

ताजा जनादेश नै अहिलेको उत्तम विकल्प : कमल थापा

शुक्रबार, २१ फागुन २०७७, १६ : ३१
4 Shares

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिलेको राजनितिक माहौलले उचित निकास दिन नसक्ने बताउदै यसको उत्तम विकल्प ताजा जनादेश नै रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समितिले शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै थापाले अपवित्र गठबन्धनको खेलमा नलाग्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । जनताले कांग्रेसलाई सत्ता चलाउन म्याण्डेट नदिएकोले कांग्रेस अपवित्र गठबन्धनमा लाग्यो भने त्यो जनताको भावना विपरीत हुने उनको तर्क रहेको छ । “नेपाली कांग्रेसले फोहोरी गठबन्धन बनाएर सत्तामा जाने वा निर्वाचनमा गएर ताजा जनादेशमा आउने ? बल अब नेपाली कांग्रेसको कोर्टमा छ । ” थापाले भने ।

सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्न सक्दैन भनेर संसद पुनस्र्थापना गरिदिएकाले अब कांग्रेसले धारा ७६ (२) अनुसारको सरकारको खेलमा नलागि ७६(७) अनुसार विघटनको विकल्पमा जानुपर्ने उनको भनाइ छ । नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने भएकाले कांग्रेस फोहोरी राजनीतिको खेलमा लाग्न नहुने थापाले बताए । “ नेपाली जनताले कम्युनिष्ट फुटाउ अनि सत्तामा जाउ भन्ने म्याण्डेट दिएको हैन, त्यो सोही अनुसार गरे धारा ७६(७) अनुसार संसद बिघटन गरि ताजा जनादेशमा जानु पर्छ ।” थापाको भनाई छ ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीलार्ई शान्तिपूर्ण राजनीतिमा स्वागत गरेका छन् । सरकारले विप्लव नेतृत्वको पार्टीलाई मूलधारमा ल्याएर ठूलो सफलता हासिल गरेको पनि थापाको भनाइ छ । ‘यसले आफ्ना फरक मान्यता स्थापित गर्न हिंसा र विद्रोहको बाटोमा जानुपर्दैन भन्ने कुरा स्थापित भएको छ’–उनले भने । अध्यक्ष थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रप्रति आफ्नो पार्टीको असहमति कायमै रहेको भन्दै मुलुकमा निम्तिने राजनीतिक अस्थिरताले धर्म परिवर्तन गराउन खोज्नेहरुलाई बल पुग्ने बताए ।

उनले २०७८ बैशाख २५ देखी २८ गते सम्ममा हुने केन्द्रिय महाधिवेशनको तयारीमा युद्धस्तरमा जुटेको उनले जानकारी दिए । पहिलो पटक एकता महाधिवेश हुन लागेको बताउदै उनले बिगतको भन्दा यो महाधिवेशन फरक बनाईएको बताए । बिगतमा जिल्ला र निर्वाचन क्षेत्रबाट मात्रै महाधिवेशन प्रतिनिधि छनौट गर्ने गरिएकोमा हाल त्यसलाई खारेज गरि अब महाधिवेशन प्रतिनिधिहरु प्रदेश सभा निर्वाचन क्षेत्रबाट सक्रिय सदस्यता लिएकाबाट निर्वाचित भएर आउनेलाई हुने उनले बताए । करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीलाई देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्ने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।