ताजा अपडेट »

तिलोत्तमामा अन्तर्राष्ट्रिय मापदण्डसहितको स्पोर्ट्स पार्क

शुक्रबार, २१ फागुन २०७७, १४ : १६
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डसहितको अत्याधुनिक खेलकुद पार्क(स्पोर्ट्स पार्क) को गुरुयोजना सार्वजनिक गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको पार्कको लागत १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

दक्षिण एसियाली खेलकूद (साग) मा खेलाइने सबै खेल एकै साथ खेलाउन सकिने नमूना पार्क गुरुयोजना अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा गरिएको छ । तिनाउ तटीय क्षेत्रमा निर्माण गरिने स्पोर्ट्स पार्कको गुरुयोजना अनुसार कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने पार्कमा आधुनिक र प्रविधियुक्त कभर्ड हल र स्टेडियम निर्माण हुने छ । साफमा खेलिने कुल २८ प्रकारका खेल मध्ये गल्फ र बोटिङ बाहेकका २६ प्रकारका खेल एकैसाथ खेल्न सकिने छ ।

रात्रिकालिन तथा दिउसो दुबै समयमा खेल्न मिल्ने गरी निर्माण हुन थालेको स्पोर्टस पार्कमा फुटबल, क्रिकेट, व्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिसिङ, फिल्ड हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराँते, खो खो खेल्न सकिने छ । त्यस्तै सटिङ स्विमिङ, एकास, टेबलटेनिस, तेक्वान्दो ,लन टेनिस, टेनिस, रेसलिङ, हुसु वेटलिफ्टिङ, टीटी लगायतका खेल खेल्न सकिने छ ।

क्राउन डिजाइन एण्ड रिसर्च सेन्टर ललितपुरले तयार गरेको स्पोर्टस पार्कको गुरुयोजना इन्जिनियर सुनिल लम्सालले सार्वजनिक गरेका हुन् । भैरहवामा निर्माण सम्पन्न हुँदै गरेकोे अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटल, प्रयाप्त जग्गा र मुलुककै मध्यभागमा रहेको रुपन्देहीको तिलोत्तमा नगर क्षेत्र स्पोर्टस पार्कका लागि उपयुक्त मानिएको छ ।

२ सय महिला ४ सय पुरुष गरी ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रुपमा राख्न सकिने गरी एकेडेमीको पनि निर्माण हुने भएको छ । १० हजार सवारी साधन पार्किङ गर्न मिल्ने गरी गुरुयोजना बनाइएको तिलोत्तमा स्पोर्टस पार्क निर्माण समितिका अध्यक्ष दीपक पाठकले जानकारी दिए । अर्थमन्त्री पौडेलले बजेटको अभाव हुन नदिने र समयमै निर्माण हुने गरी आयोजनामा जुट्न आह्वान गरेका छन् ।

https://www.globalaawaj.com/archives/52969
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।