ताजा अपडेट »

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

विहीबार, २० फागुन २०७७, ११ : ३३
10 Shares

नवलपुर । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन : पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले वनजङ्गल र जैविक विविधतालाई संरक्षण गरी उचित मात्रामा प्रयोग गर्नसके दिगो जीविकोपार्जन गर्न सकिने बताए । उनले वन्यजन्तु मुलुकको महत्वपूर्ण निधि भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । भावी सन्ततिलाई देखाउनका लागि पनि वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको पाण्डेले बताए ।

समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले चोरी शिकारीमा संलग्न ४० वर्षमुनिका हुने गरेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जको अपराध अनुसन्धान शाखाबाट प्राप्त भएको तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये ९० प्रतिशत मानिस ४० वर्षमुनिका भएको बताए । आपराधिक गतिविधिमा संलग्न हुने युवाको समूह धेरै भएको भन्दै केसीले युवालाई संरक्षण शिक्षा प्रदान गरेर परिचालन गरेमा चोरी शिकारी नियन्त्रण गर्न सकिने बताए । केही दिन पहिले मात्रै चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिङ्गे गैँडा मारेको अभियोगमा जिल्लाका विभिन्न स्थानबाट अरोपी पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका सबै आरोपित ४० वर्षभन्दा कम उमेरका थिए ।

विश्व वन्यजन्तु दिवसमा नदी किनार सरसफाइ

विश्व वन्यजन्तु दिवसको अवसरमा जिल्ला सदरमुकाम कावासोतीस्थित नारायणी नदी किनार सरसफाइ तथा विविध कार्यक्रम गरिएको छ । मानवीय कारणले वन्यजन्तुको वासस्थान सङ्कटमा परेको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायणी नदी किनार सरसफाइका साथै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनसमेत गरिएको थियो । नारायणी नदी किनारसँगै कावासोती नगरपालिकाको मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने शान्तिकुञ्ज नमूना वन तथा कृष्णसार वन परिसरमा समेत सरसफाइ गरिएको थियो ।

चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष केवलप्रसाद चौधरीले वनजङ्गल क्षेत्रमा बढ्दै गएको प्रदूषण र दूषित पानीका कारण वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताए । कार्यक्रममा कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानाले जथाभावी फोहोर फालिँदा ती फोहर वन्यजन्तुले खाएर बिरामी पर्ने गरेका बताए । प्लाष्टिक तथा बोतल जथाभावी फाल्नाले वन्यजन्तुले खाने तथा सिसा फुटेर वन्यजन्तुको खुर तथा खुट्टामा घाउ हुने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको लामिचौर उपभोक्ता समिति मातहतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, जटायु रेष्टुराँ व्यवस्थापन समिति, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा कार्यक्रम गरिएको थियो । सरसफाइ तथा चेतनामूलक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको लौखानी रेन्जपोष्टका प्रमुख सुशील झा, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भेषराज महतोलगायत वन समितिका पदाधिकारीले संरक्षणका बारेमा धारणा राखेका थिए ।

रासस
लेखकको बारेमा
रासस