ताजा अपडेट »

सखी बहिनपा मैथिलानी समूह नामक संस्था दर्ता

विहीबार, २० फागुन २०७७, १० : २२
10 Shares

जनकपुरधाम। मैथिली भाषा, साहित्य, संस्कार, संस्कृति, उद्यमको विकास र धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले सखी बहिनपा मैथिलानी समूह नामक संस्था दर्ता भएको छ । विगत पाँच वर्षदेखि सामाजिक सञ्जालमार्फत सञ्चालित सो संस्था जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको छ ।

संस्थाका संस्थापिका आरती झाका अनुसार संस्थासँग सामाजिक सञ्जालमा विश्वभर २२ हजार मैथिलानी आबद्ध छन् । सो संस्थाले नारीलाई (मैथिलानी) उद्यमशील, स्वावलम्बन, आत्मनिर्भरतातर्फ उत्प्रेरित गरी उद्यमप्रति जागरण एवं व्यवस्थापन गरी आर्थिक र सामाजिक विकास, विभिन्न समुदायको सांस्कृतिक अवस्थाबारे अध्ययन, शोध र दस्तावेजीकरण, प्राथमिक कक्षादेखि नै मैथिली भाषाको पठनपाठनका लागि वातारण सिर्जना, परम्परागत कला, भाषा, संस्कार, लिपि, सभ्यतालाई जीवन्तता दिन रक्षामूलक कार्य र समस्याको निराकरण गर्न पहल गर्ने जनाइएको छ ।

नारीको शिल्पगत सामग्रीको प्रवर्द्धन , स्वरोजगारका माध्यमले जीविकोपार्जनको अवसर, परम्परागत संस्कारजन्य र आहारका सामग्रीको बजारीकरणका लागि व्यवस्थापन, सामाजिक कुरीति निवारणमूलक अभियान सञ्चालन गर्ने सो संस्थाको योजना रहेको छ । संस्थाले नारीको आत्मनिर्भरताका लागि आर्थिक, सामाजिक, शैक्षिक विकासमूलक कार्य, भाषाको प्रचारप्रसार, भाषाको उन्नयनका लागि प्रचारप्रसार, सांस्कृतिक महोत्सव, प्रशिक्षण, सङ्गोष्ठी गर्ने उद्देश्य राखेको छ ।

रासस
लेखकको बारेमा
रासस