ताजा अपडेट »

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

बुधबार, १९ फागुन २०७७, १६ : २७
8 Shares

जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ ।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा) मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए । कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।

रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा रेड पाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वनरक्षकसहितको टोलीले वडा नं १ का कोल्ली खोला, रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ को लिम्सा जङ्गल, वडा नं ४ का मैना, जम्काखोला, कलेबारी, मारेपानी, जङ्गल तल्कोट, रतनकोट, पाखा, धाउखानीलगायत जङ्गलमा अध्ययन गरिएको थियो ।

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिए । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुन: खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको केसीले बताए ।

रासस
लेखकको बारेमा
रासस