April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

हरियाली जोगाउन वैज्ञानिक वन खारेज : वनमन्त्री आले

552


काठमाण्डौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हरियाली वन जोगाउनका लागि वैज्ञानिक वन खारेज गरिएको बताएका छन् । ‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासङ्घले काठमाण्डौमा आयोजना गरेको आठौँ राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् ।

वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केही कुतत्वले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेकाले वन फँडानी रोक्नका लागि आफूले सो कदम चालेको उनको दाबी थियो । “हरियाली वन सखाप गर्नेका विरुद्ध उत्रिएको छु सबैको साथ र सहयोगको अपेक्षासमेत गरेको छु”, मन्त्री आलेले भने । वैज्ञानिक वन खारेज नगर्नका लागि विभिन्न क्षेत्रबाट केही प्रलोभन आए पनि आफूले ती प्रलोभनलाई लत्याउँदै भावी सन्ततिका लागि भए पनि फँडानी हुन लागेको वन जोगाउन सफल भएको बताए । उनले वैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा वन फँडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बदनाम पार्ने काम भएकाले त्यसलाई नियन्त्रण गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरे ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि विसं २०७१ खारेज गरिसकेको छ । गएको माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । वैज्ञानिक वन खारेज भएपछि अब दिगो वन व्यवस्थापन लागू गरिनेसमेत मन्त्री आलेले जानकारी गराए । आफू सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर देशका विभिन्न स्थानको अवलोकन गर्दा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा वैज्ञानिक वन कार्यक्रमका नाममा चुरेको दोहन भएको पाइएपछि आफूहरुले सो कार्यक्रम नै खारेज गर्नुपर्ने र दोषीलाई कारवाही गर्न सिफारिस गरेको समेत उनले जानकारी दिए ।

मन्त्री आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेको समेत जानकारी दिए । पशुपति आर्यघाटमा दाहसंस्कार गर्नका निम्ति नि:शुल्क दाउराको व्यवस्थापनका लागि वन मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताए ।

पछिल्लो अपडेट