ताजा अपडेट »

बीमा संस्थानको नयाँ शाखा

बुधबार, १९ फागुन २०७७, १२ : ४३
6 Shares

काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको पहुँच बढाउने ध्येयका साथ शाखा बढाउने क्रमलाई तीव्र पारेको छ । निजी क्षेत्रका बीमा कम्पनीले धेरै स्थानमा शाखा खोल्दै व्यवसाय विस्तार गरिरहेको बेला संस्थानले पनि अब क्रमश: देशभर नै आफ्नो उपस्थिति जनाउन लागेको हो ।

संस्थानले पछिल्लो पटक काठमाण्डौं को चाबहिलमा १७ औँ र भक्तपुरको सूर्यविनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । संस्थानले आज जारी गरेको विज्ञप्तिअनुसार चाबहिल शाखाको सोमबार काठमाण्डौं महानगरपालिका–७ का अध्यक्ष सुतकुमार डङ्गोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

वडाध्यक्ष डङ्गोलका अनुसार चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकामा आभार प्रकट गर्दै सरकारी संस्थान भएकाले बीमा व्यवसाय र साक्षरता अभियान चलाउनु जरुरी छ । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चावहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए । संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमा शुल्क सङ्कलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताउनुभयो । नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमश: बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्तरुपमा उद्घाटन गर्नुभएको संस्थानले जनाएको छ । संस्थानको काठमाण्डौको कलङ्कीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिट्टै कारोवार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्यकाभित्र शाखा सङ्ख्या चार पुगेको छ ।

रासस
लेखकको बारेमा
रासस