ताजा अपडेट »

अनलाइनबाटै सङ्ग्रहालयको अवलोकन

बुधबार, १९ फागुन २०७७, ११ : ५७
4 Shares

काठमाण्डौं । सङ्ग्रहालय छाउनीको आफ्नो ८२ औँ स्थापना दिवसका अवसरमा मुद्रा सङ्ग्रहालयको भवन थप भएको छ । सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले मुद्रा सङ्ग्रहालयका प्रमुख प्रतिमा रञ्जितलाई एक कार्यक्रमबीच आज नयाँ भवनको साँचो हस्तान्तरण गरे ।

सो भवन राष्ट्रिय सङ्ग्रहालयको परिसरमा नै रहेको छ । तीन तलाको सो भवन २०७० सालको गोरखा भूकम्पपछि निर्माण थालिएको हो । भूकम्पका बेला मुद्रा सङ्ग्रहालय रहेको पुरानो भवन भत्केको थियो । मुद्रा सङ्ग्रहालयमा पाँचौँ शताब्दीदेखिका कागजी मुद्रासम्म सङ्ग्रह गरी प्रदर्शनीमा राखिएको छ । सङ्ग्रहालयमा इसापूर्व आठौँ शताब्दीमा प्रचलनमा रहेका मुद्रा पनि सङ्ग्रह गरिएको छ ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरणको अगुवाइमा सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । सङ्ग्रहालय भवनलाई पूर्णता दिन पुन:निर्माण प्राधिकरणसँग थप रु सात करोड बजेट माग गरिएको सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । “माग गरेअनुसाको बजेट विनियोजन भए सङ्ग्रहालयलाई संरचनागतरुपमा पूर्णता दिन सकिन्छ”, उनले भने । स्थापना दिवसका अवसरमा राष्ट्रिय सङ्ग्रहालयको प्रवेशद्वारको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सङ्ग्रहालयभित्र रहेका ऐतिहासिक सम्पदाको अनलाइनबाटै अवलोकन गर्न सकिने ‘भर्चुअल रियालिटी म्यूजियम टुर’को शुभारम्भ गरिएको थियो । यससँगै अब अवलोकनकर्ताले जहाँबाट पनि जहिले पनि अनलाइनबाटै सङ्ग्रहालयको अवलोकन गर्न सक्नेछन् । राष्ट्रिय सङ्ग्रहालयको बेवसाइट मा गएर अवलोकनकर्ताले सङ्ग्रहालयको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सहप्राध्यापक डा. मिलनरत्न शाक्यको ‘कला सम्पदा भाग–४’ को विमोचन गरेका थिए । सचिव कोइरालाले सङ्ग्रहालयलाई व्यवस्थित र विकसित ढङ्गले अगाडि बढाउनुपर्ने बताए । पुस्तकका लेखक शाक्यले बौद्र्ध आर्ट ग्यालरीमा बौद्ध धर्मसम्बन्धी विभिन्न कला समेटिएको बताए । सो पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा रहेको छ ।

रासस
लेखकको बारेमा
रासस