ताजा अपडेट »

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

बुधबार, १९ फागुन २०७७, ११ : ३४
4 Shares

काठमाण्डौं । मध्ययुगीन राज्य, समाज, पात्र, राजनीति र संस्कृतिलगायतका विषयवस्तुको कल्पना गरी अङ्ग्रेजी भाषामा लेखिएको ‘दि स्याडोज् इन सिलियन’ नामक उपन्यास सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले आज यहाँ आयोजित समारोहमा लेखक सहसेनानी कृतार्थ शमशेर जबराको उक्त कृतिको लोकार्पण गरेका हुन् । प्रतिभा, व्युत्पत्ति र अभ्यासको मिश्रणका रुपमा रहेको उक्त कृतिमा शास्वत मर्म र कलात्मक पक्षलाई चित्रण गरिएको छ । मध्ययुगीन समाजको राजनीतिक, धार्मिक र सांस्कृतिक बिम्ब र प्रतीकको सम्मिश्रणद्वारा काल्पनिक राज्य र पात्रको सिर्जना गरेर रचना गरिएको उक्त उपन्यासले नेपाली नयाँ पुस्तालाई साहित्य सिर्जनाको नयाँ मोडमा प्रवेश गराएको छ ।

उपकुलपति गुरुङले काव्यसाधनाले मात्र व्यक्तिको यश र इज्जतप्रतिष्ठा बढाउने भएकाले त्यस साधनामा लाग्न सबैसँग आग्रह गरे । उनले भने, “सेनाका जनशक्ति शस्त्रमात्र होइन, शास्त्रको चाल पनि अघि बढाउन सक्षम छन् भन्ने उदाहरणका रुपमा यो उपन्यास आएको छ, यस्ता कृतिले मानिसलाई प्रतिष्ठित बनाउने शिक्षा र सन्देश दिन्छ ।”

कठोर मन हुने व्यक्तिले साहित्य सिर्जना गर्न कठिन हुने भए पनि सैनिक सेवामा रही साहित्य रचना गर्नु आफैँमा चुनौतीपूर्ण रहेको बताउँदै उपकुलपति गुरुङले इच्छा राखेर अघि बढ्न खोजे के सम्भव छैन भन्ने दृष्टान्तका रुपमा पुस्तक रहने धारणा व्यक्त गरे । उपन्यासको समीक्षा गर्दै समालोचक दीपेन्द्र अधिकारीले मध्ययुगीन समयको काल्पनिक राज्य र पात्रको सिर्जना गरेर लेखिएको उक्त उपन्यास भाषा र शब्द चयनका हिसाबले विशिष्ट रहेको बताए ।

अर्का समीक्षक सगुना शाहले लेखनकला, विषयवस्तु, पात्रचयन, क्रियाकलाप र पृष्ठभूमि निकै प्रभावशाली रहेको अरु पुस्तकको तुलनामा स्तरीय रहेको बताए । प्राध्यापक कमलसिंह राठौरले सेनाको व्यस्त जीवनमा रहँदा आफ्नो सिर्जनशीलताको उपयोग गरी कृति तयार गर्नु प्रशंसनीय काम हो भने । रेड पाण्डा बुक्स प्रालिले प्रकाशन गरेको सो कृति ४०६ पृष्ठको छ ।

रासस
लेखकको बारेमा
रासस