ताजा अपडेट »

सुन्तलामा असिनापानी र रोगको असर

बुधबार, १९ फागुन २०७७, १० : १३
2 Shares

भरतपुर । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर नौ दशमलव ५८ टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताए । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिए। एक सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९।१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९।५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पुर्याउनुका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताए ।

उनका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना–३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डीभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।

रासस
लेखकको बारेमा
रासस