ताजा अपडेट »

पर्यटक आगमनमा झिनो सुधार

मंगलबार, १८ फागुन २०७७, १६ : २२
2 Shares

काठमाण्डौं । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका हुन् । बोर्डका प्रवक्ता मणि लामिछानेले पछिल्ला महिना पर्यटक आवागमन सुधारात्मक रहेको बताए । कोभिडपछिको पर्यटक आवागमन दरलाई तुलना गर्दा क्रमश: सुधारोन्मुख छ । उनका अनुसार कोभिडपछिको पर्यटक आगमनदर हेर्दा गत नोभेम्बरमा एक हजार ९५६ र डिसेम्बरमा चार हजार २४५ पर्यटक आएका छन् । यो वर्षको जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक आएका छन् । यो हवाई मार्ग भएर आउने विदेशी पर्यटकको सङ्ख्या हो ।

फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७६३ पर्यटक नेपाल आएका छन् । सन् २०२० को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल नौ प्रतिशत कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७०८ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव नौ प्रतिशतले कमी हो । सन् २०२० को फेब्रुअरीमा तीन हजार २०७ पर्यटक नेपाल आएका थिए । अमेरिकाबाट ५०२ र जर्मनीबाट १२६ पर्यटक आएका छन् । कोभिड महामारी जारी रहेपनि नेपालमा कोभिड विरुद्धको खोप लगाउन शुरु भइसकेको र कोभिडका सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन वृद्धि हुने व्यवसायीको अपेक्षा छ ।

सरकारले अघिल्लो वर्षको नोभेम्बर १७ तारिखदेखि नेपालमा विदेशी पर्यटक आवागमन खुल्ला गरेको थियो । कोभिड नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको करीब आठ महिनापछि नेपालको पर्वतारोहण र पदयात्रा नियमित भएको थियो । विदेशी पर्यटकलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यताका कारण पनि विदेशी कम सङ्ख्यामा आएको व्यवसायीको बुझाइ छ । अनअराइभल भिसाको व्यवस्था गरी क्वारेन्टिनको बाध्यता हटाएको खण्डमा विदेशी पर्यटक बढ्ने सरोकारवालाको बुझाइ छ । नेपालको पर्यटनको मुख्य मौसम मार्च, अप्रिल र मे हो । यो अवधिमा पर्वतारोहण तथा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।

क्वारेन्टिन र अनअराइभल भिसा नभएका कारण आउन चाहने विदेशी पर्यटक पनि आउन नसकेको पर्यटन बोर्ड तथा निजी क्षेत्रका अगुवा संस्थाको बुझाइ छ । नेपाल पर्वतारोहण सङ्घ, होटल एशोसिएशन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत पर्यटन क्षेत्रका अगुवासंस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, पर्यटन विभाग, बोर्डलगायतको ध्यानाकर्षण गराउदैँ आएका छन् । व्यवसायीले होटल क्वारेन्टिन हटाएर अनअराइभल भिसाको व्यवस्था गर्न माग गरेका छन् ।

पर्यटकका लागि व्यवस्था गरिएको स्वास्थ्य मापदण्डले मुख्य पर्यटकीय मौसममा पनि विदेशी पर्यटक नआउने हुन्की भन्नेमा व्यवसायी चिन्तित छन् । पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले विदेशी पर्यटकका लागि हालको व्यवस्थामा सुधार गरेको खण्डमा आगामी दिनमा पर्यटक बढ्ने बताए । पिसीआर नेगेटिभ लिएर आउने पर्यटकलाई नेपालमा निर्वाध रुपमा घुम्न दिने वातावरण बनाइनुपर्नेमा उनले जोड दिए । पर्यटन व्यवसायी राजन सिङ्खडा पनि कोभिडको खोप लगाएर आउने पर्यटकलाई क्वारेन्टिन नबस्नुपर्ने व्यवस्था गरिए पर्यटक आगमन सहज हुने बताए । अहिले पर्यटकका लागि रहेको स्वास्थ्य मापदण्ड खुकुलो नबनाइए आउने मौसममा पनि पर्यटक भित्र्याउन कठिन हुने उनको तर्क छ ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकका लागि कायम गरिएको विद्यमान स्वास्थ्य मापदण्डलाई परिमार्जन गरी आगमन सहज तुल्याउनसके पर्यटक बढ्ने विश्वास व्यक्त गरे । हालकै अवस्थामा पनि विदेशी पर्यटक क्रमश: बढ्नुले नेपालको पर्यटन विस्तारै लयमा फर्किने अवस्थामा छ । तथापि पूर्वाधार विकास, सेवा स्तरीकरण र प्रवद्र्धनका कामलाई अझ प्रभावकारी बनाइनु जरुरी छ । पर्यटन प्रवद्र्धनका लागि बोर्डले पनि अहिले विभिन्न माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन कार्यलाई तीव्रता दिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए ।

रासस
लेखकको बारेमा
रासस