April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा परिसङ्घ

606

काठमाडौँ ।नेपाल उद्योग परिसङ्घले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।परिसङ्घका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनको कार्यकक्षमा भेट गरी सो अभियानका बारेमा जानकारी गराएको हो ।

परिसङ्घका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसङ्घले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरु गरेको बताए । परिसङ्घको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताए । यस अभियानमा सरकारले स्वमित्वबोध गरी स्वदेशी उद्योगको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाले परिसङ्घले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै त्यसमा मुख्यगरी चारवटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको जानकारी दिए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसङ्घको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात रु चार खर्ब ३० पु¥याउने र कूल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने बताए ।

उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसङ्घले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए । स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजुरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताए।छलफलमा परिसङ्घको तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाललगायत उपस्थिति थियो ।

पछिल्लो अपडेट