ताजा अपडेट »

दूधमा अनुदानः उत्पादन बढाउँदै किसान

मंगलबार, १८ फागुन २०७७, १४ : ०९
2 Shares

वालिङ नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिएपछि किसानले उत्पादन बढाउँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका विभिन्न दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दूध विकास संस्थानले तोकेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु १५ उपलब्ध गराउँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए ।

गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा विकास गर्ने उद्देश्यले किसानलाई प्रोत्साहनबापत प्रतिलिटर रु १५ अनुदानस्वरुप उपलब्ध गराइएको प्रमुख अधिकारीले बताए । “गल्याङलाई सेतो शहरका रुपमा पहिचान दिने अभियानसहित अगाडि बढेका छौँ”, प्रमुख अधिकारीले भने, “पशुपालक किसानहरु उत्पादन वृद्धि गर्नतर्फ लाग्नुहोस्, उत्पादित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ, ढुक्क हुनुहोस् ।”

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको उनको भनाइ छ । गल्याङ नगरपालिकाले थालेको अभियानमा यहाँका पशुपालक किसान उत्साहित भएर लागेका छन् जसका कारण अभियान सफल र प्रभावकारी बन्दै गएको पशु शाखाप्रमुख सुशील अर्यालले बताए । किसानले अनुदान प्राप्त गर्ने र बजारीकरणको समस्या नभएपछि उत्पादन वृद्धि गर्नतर्फ लागेको उनले बताए ।

गल्याङ नगरपालिकाका विभिन्न १८ वटा दुग्ध सङ्कलन केन्द्रमा आबद्ध रहेका किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान रकम उपलब्ध गराउँदै आएको शाखाप्रमुख अर्यालले बताए । “किसानले उत्पादन गरेको दूधको खपतका लागि नगरपालिकाले योजना बनाएको छ”, उनले भने, “दूधबाट विभिन्न खालका परिकार बनाउने र बजारमा बिक्री वितरण गर्नेछौँ ।”

नगरपालिकाले गत शनिबार मात्रै वडा नं २ बटुवास्थित जनकल्याण दूध सङ्कलन केन्द्रका ५१ किसानलाई अनुदानस्वरुप रु छ लाख छ हजार ३६९ वितरण गरेको थियो । नगरभित्रका १८ दुग्ध सङ्कलन केन्द्रमध्ये पछिल्लो चौमासिकमा अनुदानस्वरुप उपलब्ध गराइएको यो रकम नै सबैभन्दा धेरै भएको शाखाप्रमुख अर्यालको भनाइ छ ।

उक्त सङ्कलन केन्द्रबाट सबैभन्दा धेरै रु ८५ हजार ३२० अनुदानस्वरुप आफूले प्राप्त गरेको रनमाया गुरुङले बताए । “एकातिर दूधको उचित मूल्य तथा अनुदान पाइने र अर्कोतर्फ उत्पादित दूधको बजारीकरणको समस्या नभएपछि आकर्षण थप बढ्दै गएको छ”, दुग्ध व्यवसायी गुरुङले भने, “अनुदान रकमले व्यवसायप्रति थप हौसला र उत्प्रेरणा जगाएको छ, किसानहरुमा खुशी छाएको छ ।”

उत्पादित दूधका लागि नगरपालिकाले अनुदानको व्यवस्था मिलाएसँगै किसानलाई आत्मनिर्भरताबाट माथि उठाउँदै व्यवसाय उन्मुख बनाउनका लागि टेवा पुग्ने विश्वास दूध व्यवसायी गुरुङको छ ।

रासस
लेखकको बारेमा
रासस