ताजा अपडेट »

योगी नरहरिनाथलाई चिन्न सकेनौँ’

मंगलबार, १८ फागुन २०७७, १२ : १८
6 Shares

नवलपुर । राष्ट्रगुरु योगी नरहरिनाथको १०६औँ जन्मजयन्तीका अवसरमा सोमबार नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको गैँडाकोटस्थित पितौजीमा उनको योगदानबारे प्रवचन कार्यक्रमको आयोजना गरियो ।कार्यक्रममा महेश सन्यास आश्रमका प्राचार्य प्रा डा गुरुप्रसाद सुवेदीले राष्ट्रिय स्वाधीनताका सवालमा योगी नरहरिनाथ अत्यन्त सजग बताउँदै उनको जीवनशैलीबाट राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार, संस्कृति, सभ्यता जान्न सकिने उल्लेख गरे ।

योगी नरहरिनाथले सम्पादन गरेका हरेक कृतिले राष्ट्रको गरिमालाई उँचो बनाएको छ । योगीका ५७१ कृति छन् । विश्वभरि रहेका सम्पूर्ण हिन्दू सभ्यताका अनुयायीहरूका अभिभावकका रुपमा योगी नरहरिनाथ रहेको उनको भनाइ छ । “योगीजीलाई अरुको भरोसामा बस्ने कुरा पटक्कै मन पर्दैनथ्यो”, प्रा डा सुवेदीले भने, “उनले आफ्नो जीवनकालमा कसैसँग केही पनि चाहियो भनेर हात थाप्नुभएन ।” शिक्षामा सुधार गरेमा देशको सबै क्षेत्रको विकास हुन्छ भन्ने योगीको मानसिकताका कारण उनले धेरै ठाउँमा गुरुकुल स्थापना गर्दै गरेको उनले बताए।

योगीको जीवनीबारे विद्यावारिधी गर्दै यदुनाथ पोखरेलले योगीका बारेमा विदेशी सञ्चारमाध्यमले महत्वपूर्ण स्थान दिने गरेका बताए । नरहरिनाथले विसं २०३८ माघे सङ्क्रान्तिका दिन गलेश्वरबाबा आश्रम देवघाटधामबाट कोटीहोम गर्न शुरु गरी १२९ कोटीहोम, ४५ लक्ष्य होम र पाँच शिवयज्ञ सम्पन्न गरेको उल्लेख गर्दै उनले योगीले कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । कोटीहोमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई उनले गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरेको पोखरेलको भनाइ छ ।

उनले योगीकै पहलमा दाङमा ‘नेपाल संस्कृत विश्वविद्यालय’ र भारतको गिरिजापुरीमा ‘सरयु संस्कृत विश्वविद्यालय’ स्थापना भएको बताए । “योगीलाई हामीले चिन्न सकेनौँ, उनलाई गलत व्यक्तित्वले काम गर्न दिइएन”, उनले भने, “अहिले उनको विचार अनुशरण गरिएको छ, यो सकारात्मक कुरा हो ।” योगीले प्रकृति संरक्षणका लागि कोटीहोम गरेको उल्लेख गर्दै पोखरेलले अहिले पाश्चात्यहरुले पूर्वीय दर्शनको होमबारे अध्ययन अनुसन्धान गरिरहेको बताए ।

नरहरिनाथको व्यक्तित्वमाथि वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र सल्लाहकार शान्तप्रसाद पोखरेल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी, योगी नरहरिनाथ आश्रमका प्रमुख योगी पीताम्बरलगायतले योगीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । नरहरिनाथले गैँडाकोटको पितौजीमा ३४औँ पटक कोटीहोम यज्ञ गरेको स्थानीयवासीको भनाइ छ । विसं १९७१ फागुन १७ गते कालीकोटमा जन्मिएका नरहरिनाथको स्वर्गारोहण विसं २०५९ फागुन १३ गते काठमाडौँको मृगस्थलीमा भएको थियो ।

रासस
लेखकको बारेमा
रासस