ताजा अपडेट »

सैनामैनामा पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

सोमबार, १७ फागुन २०७७, २१ : ३५
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनालाई धार्मिक पर्यटनको रुपमा विकास गर्न यहाँका मठमन्दिरमा नयाँ योजना अघि सारिएको छ । नगरपालिकाको वडा नं ३ स्थित मुर्गियामा रहेको दुर्गा मन्दिरमा सम्भवत नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपीठ निर्माण गरिने निश्चित भएको छ । नगरपालिकाले त्यसका लागि आज रु २३ करोड ५० लाख बराबरको परियोजनाको डिपिआर प्रस्तुत गरेको छ ।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले दोस्रो पशुपतिनाथको नामले चिनिने सैनामैनालाई धार्मिक एवं पर्यटकीय गतव्यस्थलको रुपमा विकास गर्नका लागि शैलपुत्री शक्तिपीठले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सो योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समवन्य गरेर अघि बढ्ने बताए।

शक्तिपीठलाई बोलबम धाम, लामिरह, लुम्बिनीलगायत क्षेत्रसँग जोडेर बृहतरुपमा विकास गर्न सके यस क्षेत्रको कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । सैनामैना नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर सुरज न्यौपानेले निर्माणाधीन शक्तिपीठको व्यवस्थित डिपिआर तयार गरिएको र धार्मिक पर्यटनको लागि आवश्यक सबै पूर्वाधार समेटिएको बताए।

दुर्गा माताको नौ रुप मध्येको पहिलो स्वरुप शैलपुत्री रहेको र उनको नामबाट नेपालमा यस प्रकारका शक्तिपीठ नभएको हुँदा सैनामैनामा बन्ने यस पीठ नेपालकै पहिलो हुने आचार्य पण्डित बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । योजना सम्पन्न गर्न रु २३ करोड ५० लाख लाग्ने आर्किटेक कोमलबहादुर पुनले बताए।

बजेटको पूर्णप्रबन्ध भए करिब तीन वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य छ । कूल दुई बिघा क्षेत्रफलमा यस पीठ फैलने छ भने मुख्य मन्दिर ८६५ वर्ग मिटरमा रहने छ । शैलपुत्रीको नवदुर्गा मध्ये प्रथम देवीको रुपमा पूजाआजा हुन्छ । पर्वतराज हिमालयको घर पुत्री रुपमा उत्पन्न भएकै कारण उनको नाम शैलपुत्री राखिएको बताइएको छ । नवरात्रि पूजनमा प्रथम दिन यिनकै पूजा र उपसना गरी नवरात्रिको शुभारम्भ गरिन्छ ।

रासस
लेखकको बारेमा
रासस