ताजा अपडेट »

समृद्धिको बाटोमा युवावर्गको दायित्व

सोमबार, १७ फागुन २०७७, १९ : २४
139 Shares

समृद्धि हामी सबै नेपालीको चाहना र आशा हो । विकास प्रयासको उच्चतम प्राप्ति हो । नेपाली वृहत् शब्दकोशका अनुसार समृद्धिको अर्थ धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको, उन्नतशील वा उन्नत हो । संक्षेपमा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ । यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेतापनि वृहत् अर्थमा समृद्ध भन्नाले सम्पूर्ण सर–सुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था हो । हरेक नेपाली परिवारले मानवोचित जीवन जिउन पुग्नेगरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यवहारिक समृद्धि हो ।

विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक/आत्मिक पक्ष हो । कुनैपनि देशको समृद्धि त्यही देशका नागरिकहरुका तन, मन, धन र विज्ञानबाट मात्र सम्भव हुन्छ । विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपूर्ण सम्पन्नता सहितको समृद्धि निर्माण गर्नु नै आजको आवश्यकता हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रविन्दूमा राखी नागरिकलाई शान्तिपूर्ण स्वतन्त्रता, स्वःशासन, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समाज निर्माण गर्नु नै वास्तविकरुपमा समृद्धि हो ।

युवाशक्ति परिवर्तनको संवाहक हो । समृद्धिको मेरुदण्ड हो । युवा उमेरमात्र होईन, प्रवृत्ति हो, दृष्टिकोण हो, जोश जाँगर र हिम्मतको पर्याय पनि हो । भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा जनसंख्यालाई संसारभरिका देशहरुले आ-आफ्नै उमेरको परिधीमा राखेको पाईंन्छ । नेपालको सन्दर्भमा भने राष्ट्रिय युवा परिषद ऐन, २०७२ले १६ बर्ष देखि ४० बर्षको उमेर समूहलाई युवा जनसंख्या मानेको छ । २०६८को जनगणना अनुसार कुल जनसंख्याको करिब ४० प्रतिशत युवा छन् ।अझै पनि झण्डै आधाजसो युवा श्रमशक्ति जीविकाको लागि कृषिमा आश्रित छन् । देशका युवाशक्तिलाई मुलधारमा समाहित गर्न नसकेर नै हाम्रो समृद्धिको आकांक्षा साकार हुन नसकेको हो । समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा हुनै नसक्ने कल्पना होईन । लियो टल्सटयले भनेका छन्–‘क्रान्ति विचारको उपज होइन, यो त युवावर्गको परिवर्तनको चाहना हो । त्यस्तै स्वामी विवेकानन्द भन्छन्–कुनैपनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ ।

युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जेपनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो । उनीहरुलाई परिवर्तनका संवाहक मानिन्छ । समाज विकासको लागि युवा शक्ति निडर र निस्वार्थ भै लाग्नुपर्छ यसका लागि उनीहरुलाई संगठित र परिचालन गर्न युवा मैत्री कार्यक्रम स्थानीय स्तरसम्म लैजानुपर्छ । अहिले ‘युवा भिजन–२०२५’ र दश वर्षे रणनीतिक योजना र कार्यक्रम मार्फत युवाका समस्या र चुनौती पहिचान गरि उनीहरु लक्षित कार्यक्रम र अवसर प्रदान गर्ने जमर्को गरिएको छ । यो सराहनीय छ ।

समृद्धिको ढोका कसरि खोल्ने ? विकासको मूलस्रोत कहाँबाट आउँछ ? विभिन्न विकसित देशका हेर्दा युवा शक्ति नै देश विकास र समृद्धिको मुहान भएको तथ्य पाईंन्छ । जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन् ती देशमा मरुभूमिमा पनि पानीको मूल फुटेको छ । पहाड मैदान भएका छन् । उजाड जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग कलकारखाना खुलेका छन् । तर बिडम्बना नै भन्नुपर्छ हाम्रो देशका युवाले आफ्नो देश निर्माणको अभिभारा लिन पाएका छैनन् । अवसरको खोजिमा विदेशिन बाध्य छन् । उचित अवसर नहुउँदा प्रतिभा पलायन झन बढ्दो छ ।

कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न । जबसम्म हामीले आफ्नै पसिनाको मूल्यको महत्व थाहा पाउँदैनौं तबसम्म हामीले समृद्धि प्राप्त गर्न सक्दैनौं । एकातिर गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन् । हरेक वर्ष अन्न, फलफूल र तरकारी आयात गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । अर्कोतिर लाखौं युवाहरु परदेशमा पसिना बगाउन अभिषप्त छन् । तसर्थ युवालाई सिर्जनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि राज्यका नीति र कार्यक्रममार्फत युवाका चासोहरुलाई समुचित ढङ्गले सम्वोधन गरिनुपर्छ । राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन गरिनुपर्छ ।

देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागिता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्वद्र्धनको व्यवस्था, राष्ट्र विकासमा युवाको उर्जा, ज्ञान, सिप र क्षमताको उपयोग गर्नेजस्ता विषयलाई संवोधन गरिनुपर्छ । हाम्रा युवाहरु खाडी मुलुकहरु, कोरिया, जापान, मलेसिया लगाएतका देशमा पसिना बगाईरहँदा यता गाउँमा मलामीसम्म नभेटिने अवस्था बिद्यमान छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको पैसाले क्षणिक समृद्धिजस्तो देखिएपनि दिर्घकालिन हिसाबले देश विकास हुँदैन । दिनहुँजसो बाकसबन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनका आश्रित परिवारका आँशुको मुल्य रेमिट्यान्सको मुल्यसँग तुलना गर्न सकिदैन । युवाहरु देशका गहना हुन, महत्वपूर्ण निधी हुन । अब उनीहरुलाई विदेशिन नपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो तागत भरेर देशलाई समृद्ध बनाउने दायित्व युवाहरुको हो । ‘युवा उमेर भनेको धनी बन्न तथा गरीब बन्न दुबै अवस्थाको लागि सहि उमेर हो।’ यो भनाई हो दार्शनिक युरपिडिजको । त्यस्तै ए पि जे अब्दुल कलाम भन्छन्–मैले मेरो जीवनमा करिब दुई करोड युवा भेटेँ र हरेक युवा अरुभन्दा फरक बन्न चाहेको पाएँ । हरेक युवाले राष्ट्रपतिको दायित्व बोध गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्छन् । हरेक परिवारबाट युवाहरु बिदेश पलायन हुने र त्यसैलाई प्रतिष्ठा र गौरव ठान्ने सामाजिक मनोविज्ञान जबरजस्त रुपमा स्थापित भएको छ आजकाल । यसलाई अब त्याग्नुपर्छ । हिन भावना र मनोविज्ञान त्याग्नुपर्छ ।

युवावर्ग निराशा र कुण्ठा बोकेर बस्ने होइन, आशावादी भएर कर्ममा तल्लिन हुनुपर्दछ । विगतको अनुभवबाट सिक्दै भविष्यप्रति आशावादी चिन्तन मननमा लाग्नुपर्छ । अनिमात्र सम्भव हुन्छ समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय अभिभारा । देशको सामाजिकआर्थिक अवस्था र राजनीतिक नेतृत्वलाई दोष लगाएर विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । करिब ४५ लाख युवा यतिबेला विदेशी भूमिमा मिहिनेत गरिरहेका छन् । विदेशी भूमिमा श्रम, सिप र पसिना बगाएतापनि संकटको बेला मातृभूमि नै प्यारो हुदोरहेछ भन्ने गतिलो पाठ कोभिड–१९ संक्रमणको बेला हामी सबैले अनुभव ग¥र्यौं।

राष्ट्रनिर्माणमा अनुसन्धान, सिर्जना, नवीनता र उद्यमशील गुण बोकेका युवाहरुको नेतृत्व आवश्यक हुन्छ । देशमा विद्यमान समस्याहरुको पहिचान गरेर समाधानको लागि विकल्प खोजी गर्ने बहस चलाउनुपर्छ र यसको नेतृत्व युवाले गर्नुपर्दछ । समृद्धिको नयाँ दृष्टिकोण सहितको योजना तर्जुमा गरिनुपर्छ । विदेशी विकासका नमूना होइन कि हाम्रो माटो सुहाउँदो मौलिक मोडेल विकास गर्नुपर्छ । विश्व दृष्टिकोण बुझ्दै स्थानीय आवश्यकता सँग तालमेल हुने व्यवहारिक कार्ययोजना र नीति निर्माणमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । सबैतहका सरकारमा युवाहरु सम्मिलित ‘विशेषज्ञ समुह’ निर्माण गरि युवा शक्तिलाई परिचालन गर्न सकिन्छ । प्रतिभा पलायनको जुन कहाली लाग्दो अवस्था छ, अहिले त्यसलाई रोक्न राष्ट्रिय सङ्कल्प र प्रतिवद्धता चाहिन्छ ।

समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्राविधिक जनशक्ति पहिलो शर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय, पहिचान, राष्ट्रिय गौरव एवम् स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवावर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माण लगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । क्रान्ति, राजनीतिक परिवर्तन, स्वतन्त्रता र अधिकार प्राप्तिको लडाईं सकिएको छ । अबको मार्ग विकास र समृद्धिको हो । संविधानका अक्षरमा लेखिएका कुराले समृद्धि यत्तिकै प्राप्त हुने होईन । अक्षरका भावना अनुसारको सामाजिक आर्थिक रुपान्तरण गर्न सकियो भनेमात्र सार्थक हुन्छ ।

समृद्धिको पहिलो खुड्किलो हो आफ्नै गाउँघरमा आधारभूत मानवीय आवश्यकताको सम्वोधन हुने गरि जीविकोपार्जनको प्रबन्ध । शान्ति सुरक्षा, पहिचान, वृत्तिविकास, सामाजिक सद्भाव, सामाजिक सुरक्षा, मनोरञ्जन, सार्वजनिक सेवा र सुविधा, पारदर्शिता, गोपनीयता, स्वतन्त्रता, अन्तरसम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, दीगोपन जस्ता अनिवार्य एवम्पूरक तत्वहरु नै समृद्धिका शर्तहरु हुन । यी प्राप्त गर्न एउटा व्यक्तिको तत्परता र सपनाले मात्र सम्भव हुँदैन । आलोचना गर्नेहरु भन्छन-हैट ! राम्रोसँग एक पेट खान र एकसरो जीउ ढाक्ने साधन त पर्याप्त छैन के को समृद्धि ? कहाँबाट आउँछ समृद्धि ?

सर्वप्रथम हामीले हाम्रो बाँच्ने तरिका बदल्नु पर्दछ । सकेसम्म धेरैभन्दा धेरै सम्पत्ति थुपार्ने,सकेसम्म सरकारलाई कर नतिर्ने वा कमभन्दा कम तिर्ने । देखासिकी गर्ने, सके यूरोप अमेरिका नसके अरु विकसित देश पस्ने, त्यो पनि नभए राजधानी या विकसित सहर ताक्ने । सन्तानलाई माध्यमिक शिक्षा सक्ने वित्तिकै विदेश पठाउने, सकेसम्म कुनै पनि काम नगर्ने तर सम्पत्ति थुपार्नुपर्ने जस्ता विकृत सोचाई त्याग्नुपर्छ । हामी सामाजिक प्राणी हौं त्यसैले हाम्रो सोच आत्मकेन्द्रीत मात्र हुनुहुन्न । कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी युवा हुनु हाम्रा लागि जनसाङ्ख्यिक हिसाबले महत्वपूर्ण सबल पक्ष हो । किनकी यो वर्ग आर्थिक रुपमा सक्रिय, आत्मनिर्भर र उर्जावान शक्ति हो । युवालाई राज्य संचालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट आशातित लाभ उठाउन सक्दैन । उनीहरु कुलत, विकृति, Þद्वन्द्व र अस्थिरतामा फस्ने स्थिति आउन सक्छ । परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त हुन्छ ।

यतिबेला युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरुको काँधमा छ । जसरी विगतमा युवाहरुको सहभागितामा सबैखाले आन्दोलन, परिवर्तन, युद्ध भए अब त्यसैगरि युवाशक्तिलाई उपयोग गर्न सके अवसर हुन्छ नभए चूनौती । हाम्रा गाउँघरमा अचेल पहिलेजस्तो युवाहरुको उपस्थिती छैन । अध्ययन र रोजगारीको सिलसिलामा देश बाहिर छन् । उनीहरुको महत्वलाई राष्ट्रको समृद्धिको मार्गमा समाहित गर्न ढिलो भैसकेको छ । राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व अहम हुन्छ । चारैतिर बेथिती र अराजकताको चक्रव्यूहमा फसेको देशलाई सहि दिशा निर्देश गरेर समृद्धिततर्फ लैजानु युवावर्गको कर्तव्य र दायित्व हो । यसका लागि युवा आफै रोल मोडेल बन्न सक्नुपर्छ । भिडको पछि क्षणिक स्वार्थका लागि कुद्ने प्रवृत्ति त्याग्नुपर्छ । उद्यमशील हुनुपर्छ । राज्यले उचित नीति निर्माण गरेर उनीहरुलाई समेट्नुपर्छ ।

https://www.globalaawaj.com/archives/84039
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।