ताजा अपडेट »

रुपन्देहीका ४७ प्रतिशत प्रतिष्ठान दर्ता बिना नै सञ्चालनमा

सोमबार, १७ फागुन २०७७, १५ : १२
2 Shares

भैरहवा । रुपन्देही जिल्लामा अहिले पनि ४६ दशमलव ९ प्रतिशत बिभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था लगायतका प्रतिष्ठानहरु दर्ता बिना नै सञ्चालनमा रहेको आधिकारीक तथ्यांक बाहिर आएको छ । जिल्लामा दर्ता रहेका ३८ हजार ४ सय ३ प्रतिष्ठानहरु मध्ये २० हजार ३ सय ६९ अर्थात ५३ दशमलव १ प्रतिशत दर्ता भएको र १८ हजार ३१ वटा प्रतिष्ठान अर्थात ४६ दशमलव ९ प्रतिशत प्रतिष्ठान दर्ता नभएको राष्ट्रिय आर्थिक गणना २०७५ ले तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांक कार्यालय कपिलवस्तुले सोमबार भैरहवामा जिल्ला स्तरीय नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । देशमा आर्थिक तथ्यांकको आधार खडा गर्ने उद्देश्य सहित २०७५ बैशाख १ गते देखी जेठको ३१ गते सम्म गरिएको पहिलो आर्थिक गणनाले केन्द्र देखी स्थानिय तहका वडा स्तरका प्रतिष्ठानहरुको जानकारी राखेको दावी गरेको छ । आर्थिक गणना अनुसार नेपालमा सञ्चालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ वटा रहेको छ । जसमध्ये सरकारी निकायमा ४ लाख ६२ हजार ६ सय ५ वटा अर्थात ५० दशमलव १ प्रतिशत मात्र दर्ता भएका छन् । बाकी ४ लाख ६० हजार ४ सय २२ वटा अर्थात ४९ दशमलव ९ प्रतिशत दर्ता बिना नै सञ्चालनमा रहेको तथ्यांक कार्यालयका तथ्यांक अधिकृत नन्दलाल कुर्मिले जानकारी दिए ।

आर्थिक गणना २०७५ का अनुसार लुम्बिनी प्रदेशमा १ लाख ४७ हजार ७ सय ८९ वटा प्रतिष्ठानहरु सञ्चालनमा रहेकोमा सबै भन्दा बढी रुपन्देहीमा ३८ हजार ४ सय ३, बाँकेमा १८ हजार ६ सय ६६, बर्दियामा १४ हजार ८ सय ९६, दाङमा १४ हजार ४ सय २१, कपिलवस्तुमा १३ हजार ६ सय ७ प्रतिष्ठान रहेको तथ्यांक अधिकृत कुर्मिले ग्लोबल आवाजलाई जानकारी दिए । यस्तै पूर्वि रुकुममा प्रदेशकै सबै भन्दा कम १ हजार २० मात्र प्रतिष्ठान सञ्चालनमा रहेको उनले बताए ।
अन्र्तरािष्ट्रय स्तरीय ओद्योगिक वर्गिकरणमा उल्लेखित खण्डको २१ वटा मध्ये १८ प्रकारका आर्थिक क्रियाकलापहरु सञ्चालन गर्ने सरकारी, घरपरिवार स्तरमा सञ्चालित र नियोग बाहेकका प्रतिष्ठानहरुको तथ्यांक भएकोले नेपालमा प्रयोगमा आएका प्राय सबै प्रतिष्ठानहरु यसमा समेटिएको दावी छ ।

देशमा आर्थिक तथ्यांकको आधार खडा गर्नु तथ्यांकको मूलभुत लक्ष्य रहेको र प्रतिष्ठान तथा ब्यवसायहरुको ब्यवसायिक क्रियाकलाप सम्बन्धि वर्तमान अवश्थाका आधारभूत तथ्यांकहरु उपलब्ध गराउनु यसको उद्देश्य रहेको कुर्मिको भनाई छ । केन्द्र, प्रदेश तथा स्थानिय तहका सरकारहरुलाई योजना तर्जुमा र निति निर्माण गर्न आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउनु, राष्ट्रिय लेखा प्रणालीको सुदृढिकरण, तथ्यांकिय ब्यवसायीक रजिष्टरको निर्माण सम्बन्धित क्षेत्रका ब्यवसायीहरु र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्ताहरुलाई यो तथ्यांकले सहज गर्ने कार्यालयको भनाई छ ।

सार्वजनिक भएको तथ्यांक अनुसार रुपन्देही जिल्लामा सञ्चालित प्रतिष्ठानहरुमा १ लाख ३४ हजार ७ सय ७२ जनाले रोजगारी पाएका छन् । यस्तै ती प्रतिष्ठानहरु मध्ये सबै भन्दा बढी प्रतिष्ठान २३ हजार २ सय ३० वटा अर्थात ६० दशमलव ४९ प्रतिशत थोक तथा खुद्रा ब्यपार, मोटरगाडी, मोटरसाईकल मरम्मतका रहेका छन् । यस्तै जम्मा प्रतिष्ठान मध्ये २० हजार ९ सय ६९ वटा अर्थात ५५ दशमलव ७१ प्रतिशतले मात्र कारोबारको लेखास्रेस्ता राख्ने गरेको कुर्मिले ग्लोबल आवाजलाई बताए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा जिल्लाकै सबै भन्दा बढी १० हजार १ सय ४२ अर्थात २६ दशमलव ४ प्रतिशत प्रतिष्ठानहरु रहेका छन् । यस्तै तिलोत्तममा ५ हजार १ सय ६३, भैरहवामा ४ हजार ४ सय ६७, सैनामैनामा २ हजार ४ सय २८, देवदहमा २ हजार १ सय ७१, लुम्बिनीमा १ हजार ९ सय ५८ वटा प्रतिष्ठान सञ्चालनमा रहेको उनले ग्लोबल आवाजलाई बताए । त्यसैगरि मायादेवी गाउँपालिकामा १ हजार ७ सय ४०, ओमसतियामा १ हजार ४ सय १५, शुद्धोधनमा १ हजार ३ सय ६, सियारीमा १ हजार २ सय ९०, गैडहवामा १ हजार १ सय ८१, कञ्चनमा १ हजार १ सय ६९, सम्मरीमाईमा १ हजार १ सय ४८, रोहिणीमा १ हजार १ सय २६, कोटहिमाईमा ९ सय ५४ वटा र सबै भन्दा कम मर्चवारीमा ७ सय ७५ वटा दर्ता भएका तथा नभएको प्रतिष्ठान सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ ।

सार्वजनिक भएको आर्थिक गणना पुरा पनि नभएको र अपुरो पनि नभएको उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले टिप्पणी गरेका छन् । उनले तथ्यांकले अझै पनि देशमा कति झोलेपोके ब्यवसाय रहेको छ त्यसबारे छर्लङ्ग पारेको बताए । यसले त्यस्ता ब्वयसायलाई अब सरकारको करको दायरामा ल्याउने भूमिका खेलेको उनले बताए । यस्तै ब्यस्थित रुपमा ब्यवसाय सञ्चालन गर्नेका लागी पनि यसले फाईदामूलक ब्यवस्था गरेको बताए।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सार्वजनिक भएको तथ्यांकलाई आधार मानेर सरकारलाई आगामी दिनहरुमा निति निर्माणमा महत्वपूर्ण आधार लिन सकिने बताए । उनले पहिलो आर्थिक गणना भएको कारण यसमा कमि कमजोरी हुनु स्वाभाविक रहेको बताउदै आगामी दिनमा यसलाई अझै परिस्किृत रुपमा लैजान सुझाव दिए । यस्तै रुपन्देही जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले आर्थिक गणना पूर्ण नभएको र यसलाई आगामी दिनमा थप मेहनत गर्नु पर्ने आवश्यकता औल्याए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा