ताजा अपडेट »

डाँछीमा प्लटिङ्ग गर्दा मासिए सार्वजनिक धारापँधेरा

सोमबार, १७ फागुन २०७७, ११ : ५६
10 Shares

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी तथा नयाँगाउँ क्षेत्रमा जग्गा प्लटिङ्ग गर्दा सार्वजनिक धारा, पँधेरा र पर्ती जग्गासमेत मासिन थालेको छ । स्थानीयवासीले पुस्तौँदेखि प्रयोग गरिआएको सार्वजनिक धारा र पँधेरो सुक्न लागेको देखेर न्यायिक समितिमा उजुरी दिँदासमेत सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ । ती विषयका उजुरीको मिसिल न्यायिक समितिले तामेलीमा राखिनुले कतै प्लटिङ्ग गर्नेसँग स्थानीय तहका जनप्रतिनिधिको साँठगाँठ त छैन भन्ने प्रश्न जन्माएको नगरवासीको दुःखेसो छ ।

जनस्तरबाट आएका उजुरीको सुनुवाई नगर्ने प्रवृति देख्दा स्थानीय सरकार नै सांस्कृतिक सम्पदा नाश गरेर प्लटिङ्ग गर्नेको संरक्षक बनेजस्तो देखिएको स्थानीयवासी एवं मौलिक जरोकिलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले बताए । प्लटिङ्गको कारण पुस्तौंदेखि प्रयोगमा आएको सार्वजनिक धाराका मुहान सुक्दै जाँदा जनप्रतिनिधि मूकदर्शक बन्नु उचित नहुने भन्दै आईतबार पार्टीले कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापालाई ज्ञापनपत्र बुझाएको छ । नेपालको संविधान २०७२ ले नेपालको प्रादेशिक संरचनामा स्थानीय तहलाई स्थानीय सरकारको रुपमा अघि सारेको छ । स्थानीय सरकारका आफ्नै अधिकार र कर्तव्य भए पनि त्यसको कार्यान्वयनमा नगरपालिका चुकेको पार्टीको निष्कर्ष छ ।

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीको १९औँ नं मा खानेपानी संरक्षणसम्बन्धी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा गाँउपालिका तथा नगरपालिकाको काम कर्तव्य अधिकार अन्तर्गत दफा १ मा सार्वजनिक, ऐलानी र पर्ती जग्गाको सुरक्षा साथै पानीको मुहान संरक्षणको दायित्व स्थानीय सरकारको हुने भनी तोकेको छ ।

त्यस्तै ऐनको दफा १२ मा सार्वजनिक पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने साथै पानीको मुहान मूल, कुवा, धारा ढुङ्गेधारोको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्रे, संरक्षण गर्ने दायित्व वडा समितिको हुने भनी उल्लेख गरिएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को परिच्छेद ५ मा पँधेरो, पानीघाट, इनार, पोखरीलाई सार्वजनिक सम्पत्ति मानिने स्पष्ट व्यवस्था रहेको छ ।

सूचनाको हक प्रयोग गरी मिति २०७७ कात्तिक २० गते नगरपालिकाभित्र रहेका सार्वजनिक धाँरा पँधेराको विवरण माग गर्दा कुनै अभिलेख नरहेको भन्ने जवाफ पाएको पोखरेलले बताए । नगरपालिका प्राकृतिक तथा सांस्कृतिक स्रोत साधनको संरक्षणप्रति असंवेदनशील रहेको उनि बताउछन् । अहिले पानीका मूलको स्रोत नष्ट भएकामा साविकमा गाउँ विकास समितिले वार्षिक वजेट छुट्याएर संरक्षण गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

मौलिक जरोकिलो पार्टीले मौलिक सम्पदाको जगेर्ना गर्न प्रतिवद्ध भई लागेको जनाएको छ । मौलिक सम्पदा तथा सभ्यताभित्र मठ, मन्दिर, चैत्य, गुम्बा, बौद्ध बिहार, गुफा, पाटी, कुवा, पानी, पधेँरा, मशानघाट, चौतारी, खान, पान, भाषा, भेषभुषा, रहनसहन, धर्म, संस्कृति, परम्परा रीतिरिवाजको जगेर्ना गर्न पार्टीले नगरपालिकासँग माग गरेको छ ।

रासस
लेखकको बारेमा
रासस