ताजा अपडेट »

उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

सोमबार, १७ फागुन २०७७, १० : ४५
4 Shares

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा आईतबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका हून् ।

समझदारीअनुसार कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासङ्घ र विभागको स्वामित्वमा हुने व्यवस्था गरिएको छ । दुवै संस्थाले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ । आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने तथा औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगको सञ्चालनका क्रममा देखा पर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजश्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने लक्ष्य राखिएको छ । यस्तै रणनीति कार्ययोजना निर्माण गर्ने, महासङ्घले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनःस्थापना गर्न अधिकतम प्रयास गर्नेछ ।

त्यसैगरी गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार सङ्गठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गर्ने समझादारीपत्रमा उल्लेख गरिएको छ ।

सोही समितिमार्फत नियमित रूपमा दुवै संस्था एकै ठाउँमा रही बैठक छलफल गर्ने, सङ्कलित तथ्याङ्कको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयका लागि केन्द्रीय तथ्याङ्क विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलाई आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आमनेपाली लाभान्वित हुन सक्ने बताए । उनले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासङ्घले तयार गर्न लागेको ‘भिजन पेपर’का लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गरे ।

विभागका महानिर्देशक भुसालले महासङ्घसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारीले समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास व्यक्त गरे । महानिर्देशक भुसालले उद्योग विस्तार गर्न कहा“ समस्या छन्, त्यसको पहिचान गरी समाधान गर्न विभागले महासङ्घको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुने बताए। महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठले सहमति ऐतिहासिक भएको भन्दै उद्योगसँग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पु¥याउने विश्वास राखे ।

रासस
लेखकको बारेमा
रासस