ताजा अपडेट »

सर्वोच्चपछि दलको ध्यान संसद्

सोमबार, १७ फागुन २०७७, ०७ : २१
4 Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि राजनीतिक दलको ध्यान संसद्मा केन्द्रित बनेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २३ गतेभित्र नै संसद् बैठक बोलाउनुपर्नेछ । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अझै आह्वान गरेकी छैनन् ।

संसद् बैठक सुचारु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउन नेकपा प्रचण्ड–नेपाल समूहले सक्रियता देखाएको छ । नयाँ सरकार गठनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग प्रारम्भिक छलफल अगाडि बढाएको छ । संसद् पुनस्र्थापित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै फेस गर्ने अडान लिएपछि राजनीतिले नयाँमोडबाट अगाडि बढेको छ । प्रधानमन्त्री ओली जसरी पनि सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्ने रणनीतिको साथ अगाडि बढेका छन् भने प्रचण्ड–नेपाल समूह ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने गृहकार्यमा जुटेको छ ।

नयाँ सरकार गठनमा निर्णायक देखिएको नेपाली कांग्रेसले नेकपाभित्र देखिएको पार्टीको आधिकारिकताको विवाद नटुंगिदासम्म सरकारको बारेमा निर्णय नलिने भएको छ । संसद् विघटनसँग दुई समूहमा विभाजित बनेको नेकपाभित्र नयाँ सरकार गठनको विषयले प्रवेश पाएसँगै थप पेचिलो बन्दै गएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।