ताजा अपडेट »

अस्पतालको विवादले सुनवलको नगरसभा बहिष्कार

आइतबार, १६ फागुन २०७७, २१ : ५२
4 Shares

नवलपरासी । नगररभामा बहुमतको निर्णय गराएर अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका १० जना जनप्रतिनिधिले आठौं नगरसभा बहिस्कार गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ७ र ८ का जनप्रतिनिधिहरुले कुनै पनि हालतमा सुनवल ८ मा निर्माण हुनुपर्ने १५ सैयाको अस्पताल अन्यत्र सार्न नदिने बताउँदै नगरसभामा बहुमतको दम्भ देखाएकाले नगरसभानै बहिस्कार गरेको वडा नम्बर ८ का वडा अध्यक्ष निलकण्ठ गैरेले बताएका छन् । वडा नम्बर ७ र ८ का जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उनीहरुले २०५३ सालमा तत्कालिन सुनवल गाविस हुँदा स्थापना भएको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ सैयाको अस्पताल बनाउने भनी २०७५ साल चैत्र २९ गते नेपाल सरकारले निर्णय गरे बमोजीमनै अहिले स्वास्थ चौकी रहेको स्थानमानै अस्पताल निर्माण गर्नुपर्ने अडान लिदै आएका छन् ।

२०७६ बैशाख १२ गते स्वास्थ्यचौकी स्तर उन्नती गरी १५ सैयाको अस्पताल बनाउने सरकारको निर्णय सहितको जानकारी पत्र स्वास्थयचौकीमा आएको स्वास्थ्य चौकीका अध्यक्ष एवं वडा नम्बर ८ का अध्यक्ष गैरेको भनाई रहेको छ । सरकारले निर्णय गरे पश्चात हाल स्वास्थय चौकी भएकै ठाउँमा अस्पताल निर्माण गर्नका लागि आवश्यक नापजाँच गरी डिपिआर पनि तयार भैसकेको र भवनको डिजाईन पनि तयार भैसकेको छ । अस्पतालको भवन निर्माण सुरु गर्नका लागि २०७६ साल भदौ ११ गते सरकारका तत्कालिन स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव बाट शिलन्यास समेत भएको थियो । शिलान्यास भएको झण्डै डेढ वर्ष भैसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

नगर प्रमुख भिमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल लगायत ११ वटा वडाका अध्यक्षहरुले बहुमतको दम्भ देखाउँदै वडा नम्बर ७ र ८ मा जनघनत्व कम भएको र अपाई समेत पर्ने भन्दै अस्पतालको भवन वडा नम्बर ३ र ५ को सिमामा पर्ने वडा नम्बर ५ को बनकट्टीमा निर्माण गर्नुपर्ने अडानमा रहेको वडा नम्बर ७ का अध्यक्ष बसन्तराज दाहालले बताएका छन् । दाहालले नगर प्रमुख र उपप्रमुखले भेगिय राजनीति गरेकोसमेत जिकिर गरेका छन् ।

आठौं नगरसभाका लागि बसेको नगर कार्यपालिकाको तयारी बैठकमा सुरुमा ७ वटा प्रस्ताव मात्र ल्याएको र ती सबै प्रस्ताव छलफलबाट पारित भएपछि नगर प्रमुख थापाले गोजाबाट ८ औं प्रस्ताव अस्पतालको भवन निर्माणको विषय बैठकमा पेस गरेको दालको भनाई छ । वडा नम्बर ७ र ८ बाट नगरकार्यपालिकामा प्रतिनिधित्व गर्ने ३ जना पनप्रतिनिधिले विरोध गर्दै नगर सभामा यो विषयलाई प्रवेश नगराउन आग्रह गर्दा बहुमतले निर्णय गरिने नगरप्रमुख थापाले जवाफ दिएको दाहालले बताए । वडा नम्बर ७ र ८ को तर्फबाट अस्पताल हाल स्वास्थ्य चौकी भएकै ठाउँमा निर्माण हुनुपर्ने र अन्यत्र सार्न नपाईने भन्दै नगर प्रमुख थापा समक्ष ज्ञापन पत्र पनि वुझाइएको थियो ।

जनप्रतिनिधिलाई झुक्याएर सहि गराउने र सर्वसहमत अस्पताल सार्ने निर्णय गर्ने चाल पाएपछि बाध्य भएर नगरसभा बहिस्कार गर्नुपरेको दाहालले बताए । सरकारको अवधारणा स्वास्थय चौकीको स्तरोन्नती गरी अस्पताल निर्माण गर्ने भएकोले सोही अनुसार अहिलेको ठाउँमा नै अस्पताल निर्माण गर्नुपर्ने उनको भनाई छ । वडा नम्बर ७ र ८ का जनताले अस्पताल सार्न नदिने भन्दै यसभन्दा पहिला नगरसभामा जनप्रतिनिधिलाई घेरा हाल्ने र आन्दोलन गर्ने कार्य गरिसकेका छन् । आवश्यक परे फेरी पनि आन्दोलनमा उत्रिन र जस्तोसुकै परिस्थिति आए पनि अस्पताल सार्न नदिने बताउँदै आएका छन् ।

नगरपालिकाले निर्णय नगरिदिँदा अस्पताल निर्माणका लागि प्राप्त हुने ४ करोड ७६ लाख रकम मध्ये ३ करोड २३ लाख रकम नगरपालिकाको खातामा आएर रोकिएको वडा नम्बर ७ का वडा सदस्य विनोद पाण्डेले बताए । नगरपालिकाका प्रमुख उपप्रमुख अहिले पनि अस्पताललाई वडा नम्बर ८ बाट सारेर वडा नम्बर ५ मा लैजाने दाउमा रहेको तर त्यो दाउ पुरा नहुने पाण्डेले बताएका छन् । वहुवर्षिय योजना भएकोले तत्काल रकम फ्रिज हुने अवस्था नरहे पनि लामो समय सम्म रकम खर्च हुन नसके रकम फिर्ता जानेहोकी भन्ने चिन्ता आफूहरुलाई लागेको पनि पाण्डे बताउँछन् । वडा नम्बर ७ स्थानीय बासिन्दा नारायण आचार्यले आफुहरु भेगिय रुपमा विभेदमा परेको बताए ।

वडा नम्बर ८ की स्थानीय जमुना गौतमले हाल स्वास्थ्यचौकी भएको स्थानका लागि आएको बजेट पटक-पटक चलखेल गर्दै एक वर्ष देखी रोक्ने काम भएको बताईन् । उनले जनताको आँखामा छारो हाल्ने काम भएको भन्दै धेरै समय जनतालाई गुम्राहमा राख्न नसक्ने समेत बताईन् । जनताको धैर्यतालाई बेवास्ता नगर्न र जनमतको कदर गर्नभन्दै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएकी छन् । वडा नम्बर ८ कै स्थानीय देव बहादुर गुरुङले भने खासै विवाद हुनुपर्ने कारण नभएको बताएका छन् । बजेट फ्रिज जाने होकी भन्ने चिन्ता रहेकोले यसमा नगरपालिका जिम्मेवार बन्नुपर्ने उनको धारणा रहेको छ । मुलुक संघीय संरचनामा गैसकेको अवस्थामा र विकेन्द्रिकरणलाई जोड दिइरहेको अवस्थामा भेगिय राजनिति गर्न नहुने उनको तर्क रहेको छ ।

वडा नम्बर ७ का बाबुराम पौडेलले भने नगरपालिकासंग अहिलेको समस्या समाधान गर्नका लागि राम्रो विकल्प रहेको बताएका छन् । पौडेलले अस्पताल स्तरोन्नती हुने निर्णय कुनै निश्चित शैयाका लागि मात्र नभएकोले पहिलो चरणमा स्तरोन्नती भएको १५ सैयाको अस्पताल स्वास्थ्यचौकी भएकै ठाउँमा निर्माण गर्नु पर्ने र त्यसपछि स्तरोन्नती हुँदा बाँकी संरचना नगरपालिकाले चाहेको स्थानमानै निर्माण गर्दा उपुक्त हुने धारणा ब्यक्त गरेका छन् ।

वडा नम्बर ५ मा पनि वडा नम्बर ८ मा जस्तै गरी निर्माण गर्न सकिने उनले बताए । अस्पताल निर्माणका लागि सरकारबाट अनुमती प्राप्त भैसकेको पनि उनले बताएका छन् । स्थानीय सरकारले निर्णय गरेको ठाउँमा अस्पताल निर्माण गर्न सकिने प्राब्धान रहेकोले अब दुवै ठाउँका लागि डिपिआर तयार गर्ने, नक्सा बनाउने र टेण्डर प्रकाशन गरिने पनि देवकोटाले जानकारी दिएका छन् । वडा नम्बर ८ मा रहेको सुनवल स्वास्थ्य चौकीलाई सुरुमा बर्थिङ सेन्टरको रुपमा विकास गर्ने र त्यहाँसम्म पुग्न सडक कालोपत्रे गर्ने लगायतका कामका लागि झण्डै ३ करोड ४० लाख आसपासको बजेट ब्यवस्थापन गर्ने विषयमा दुबै वडाका अध्यक्षको सहमती रहेकोमा पछि विरोधमा उत्रिएको देवकोटाले बताए । नगरसभामा बहुमतले निर्णय भए अनुसारनै अस्पताल निर्माण कार्य अगाडि बढ्ने प्रवक्ता देवकोटाले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।