ताजा अपडेट »

मर्चवार पुगेर दिपक बोहराले भने-‘धर्म निरपेक्षता लादेर संस्कृति मेटिदैछ’

आइतबार, १६ फागुन २०७७, १६ : २१
8 Shares

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले जिल्लाका बिभिन्न निर्वाचन क्षेत्रका पार्टीको कार्यक्रमलाई तिव्रता दिएका छन् । केही समय यता जिल्लामै रहेका बोहराले जिल्लाको सबै क्षेत्रमा पुगेर आमसभा गर्ने मात्र हैन उल्लेख्य रुपमा पार्टी बिस्तार पनि गरि रहेका छन् । उनले चालेको अभियानमा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्नेका लर्को देखेर पनि राप्रपाको सक्रियता देखिन्छ ।

जिल्लाको पूर्वि क्षेत्र रोहिणी गाउँपालिकामा आक्रमक रुपमा पार्टी विस्तार संगै पार्टी प्रवेश गराएको राप्रपाले अहिले मर्चवारमा पनि सक्रियता बढाएको छ । शनिबार मर्चवारको परसहवामा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय भेला सम्पन्न गरेको छ । क्षेत्रिय भेलालाई राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, पूर्व गृहमन्त्री निरन्जन थापाल केन्द्रिय सदस्य ताहिर अली लगायतले सम्बोधन गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका बोहराले मुलुकमा धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन् । उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए । बोहराले अहिलेको कानूनमा धर्म परिवर्तन गराउनु बर्जित र दण्डनीय भए पनि त्यस्तो कार्यमा लाग्नेलाई कारवाही नभएको बताए । ‘कति मस्जिद टुट्यो, कति मन्दिर टुटे, कति गुम्बा टुटे, तर आजसम्म एकजनालाई पनि कारवाही भएन, ’उनले भने ।

हिन्दु मुस्लिम मिलेर बस्दै आएको र दुई समुदायबीच कुनै द्वन्द्व नभए पनि आजको अवस्थामा द्वन्द्व सिर्जना गर्ने प्रयास गरिएको उनले बताए । हिन्दु राष्ट्र कायम हुनुपर्ने उनले बताए ।मर्चवारप्रति आफ्नो लगाव रहेको र मर्चवारमा केही समस्या पर्दा सहयोग गर्न तयार रहेको उनले बताए । ‘राजनीति आफ्नो ठाउँमा छ, विकास निर्माण कार्यमा यहाँ उभिन्छु, मर्चवारको विकासमा मेरो योगदान रहनेछ, बोहराले भने । मर्चवारमा शिक्षा, सडक, सिंचाईको समस्या रहेको उनले बताए । शिक्षालाई विशेष जोड दिनुपर्ने बोहराको भनाइ छ ।

भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाले हिन्दु राष्ट्र कायम गराएरै छाड्ने बताए । उनले राजा हटाएर हिन्दु राष्ट्र खारेज गरिएको र १७ हजार नागरिकको ज्यान जानु दुःखद भएको बताए । ‘मर्चवारवासीले भारी मतले मलाई र दिपक बोहरालाई जिताउनुभयो, मर्चवारमा सिंचाइको ठूलो समस्या थियो, त्यसको समाधानको लागि काम ग¥यौं, मर्चवारवासीले हामीलाई सदैव याद गर्नेछ, उनले भने ।

राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ का कार्यवाहक अध्यक्ष सद्दाम हुसैन शाहको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत तथा युवा नेताद्वय शंकर खत्री र प्रेम नारायण चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)का केन्द्रीय सदस्य अहमद्दीन खानसहित ६ सय जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ । उनीहरुलाई पार्टीका वरिष्ठ नेता दिपक बोहरा, केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा, ताहिर अलि लगायतले पार्टीमा प्रवेश गराएका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा