२१ माघ २०७९, शनिबार

Feb 4, 2023

वाग्मती । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पुर्याएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।

Advertisement

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्यपृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले अठार हजार ५०० धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए ।

सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए । मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको जानकारी दिए । समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानलेसमेत पानी खान पाएको उनको भनाइ थियो ।

बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उपमहानगरमा खानेपानीको समस्या छैन । बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो ।


“उपमहानगरपालिका विस्तार भएसँगै थप भएका वडामा खानेपानीको पहुँच पुर्याउनुपर्ने दायित्व बोर्डको रहेको छ । ” उनले भने । बोर्डको निरन्तरको सक्रियताका कारण खानेपानीको चरम अभाव झेलेको हेटौँडामा खानेपानी प्रशस्त हुँदै गएको छ । विगतमा हेटौँडामा खानेपानीको चरम अभाव हुने गरेको थियो । हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपातका घटनासमेत हुने गरेको थियो । बजारमा कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए ।

सुख्खायाममा पानीका स्रोत सुक्नाले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो । अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड तथा उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमान्दारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो । बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो ।

हेटौँडा खानेपानीको इतिहास

हेटौँडा खानेपानीको इतिहास एउटा कुवाबाट शुरु भएको थियो । खानेपानी बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार यसबेला पानी खानका लागि विभिन्न ठाउँमा कुवा बनाइएका थिए । हेटौँडा–१ स्वर्गलोक, जरुवा टोल, पिप्ले, कर्रा, गर्दोई सानोपोखरालगायतका ठाउँमा स्थानीय व्यक्तिले निर्माण गरेको साधारण कुवा थिए । मानिसले तिनै कुवाका पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि हेटौँडाको बस्ती विस्तारसँगै हेटौँडा–२ त्रिभुवन राजपथको टुल्के धारा (हाल तिरतिरे धारा) बाट पाइपका माध्यमबाट पानीको व्यवस्थापन गरिएको थियो । सानो बस्तीका रुपमा रहेको हेटौँडा बजारीकरणतर्फ लम्कँदै थियो । बसोबास बढेसँगै बिस्तारै घर बढ्दै गए र मानिसको आवश्यकता पनि बढ्दै गयो ।

हेटौँडा खानेपानी विभागबाट २०२४ सालमा हेटौँडा–२ हरिकुञ्जमा पाँच लाख ४६ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी तत्कालीन हेटौँडाबाट छ किलोमिटर टाढा भैँसे गाउँपञ्चायत (हाल भीमफेदी गाउँपालिका) वडा नं ७ बुङ्गदोलबाट आठ इञ्चको पाइपबाट पानी ल्याएर हेटौँडावासीलाई पानी खुवाउने कार्यको शुरुआत गरिएको थियो । करीब एक हजार ३०० धारा जडान गरी खानेपानी विभागबाट दिइँदै आएको सेवाको २०४० बाट भने व्यवस्थापन परिवर्तन भई खानेपानी तथा ढल निकास संस्थानबाट यसको व्यवस्थापन हुन गयो । पछि २०४३ सालमा हरिकुञ्जमै पाँच लाख लिटर क्षमताको अर्को ट्याङ्की र कार्यालय भवन निर्माण भयो । साथै हेटौँडा–४ कर्रामा दुई वटा बेल निर्माण भएको थियो ।

विसं २०४६ मा संस्थाको नाम परिवर्तन गरी नेपाल खानेपानी संस्थान राखी हेटौँडा आम उपभोक्तालाई खानेपानीको सेवा दिइँदै आएको थियो । सेवा क्षेत्र विस्तार गर्ने क्रममा २०५० मा हेटौँडा–८ कमाने र २०५८ मा हेटौँडा–९ लामसुरेका बासिन्दाले सञ्चालन गरेको खानेपानी सेवा प्रणाली यस संस्थानमा गाभियो पछि हेटौँडा विकसित बन्दै र बजार बढ्दै गयो । व्यापक जनसङ्ख्या वृद्धि भएपछि खानेपानीको माग पनि अत्यधिक हुँदै गयो । उपभोक्ताको मागअनुरुप नेपाल खानेपानी संस्थानले खानेपानी सङ्कलन, उत्पादन र वितरण गर्न सकेन र हेटौँडामा पानीको समस्या दिनानुदिन बढ्दै जान थाल्यो ।

नगरमा खानेपानी समस्या बढ्दै गएपछि हेटौँडा नगरपालिकाका तत्कालीन प्रमुख डोरमणि पौडेलको पहलमा नगरपालिकाले एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा करीब रु १९ करोड बराबरको आयोजना सम्पन्न गर्याे । यस योजनाले भने हेटौँडालाई केही राहत दियो यद्यपि हेटौँडाको खानेपानीको माग तीव्र गतिमा वृद्धि हुँदै थियो । मधेश आन्दोलनपछि हेटौँडामा बसाइँसराइका कारण खानेपानीको माग दोब्बर भयो । खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड गठन भयो । बोर्डले २०६४ सालदेखि नै आफ्नो क्रियाकलाप अगाडि बढाउँदै गएको अवस्था थियो । सरकारको निर्णयबमोजिम नेपाल खानेपानी संस्थान हेटौँडा शाखा विधिवत्रुपमा २०७० जेठ ८ गतेका दिन हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तानान्तरण भएको र यसै दिनदेखि बोर्डले विधिवत्रुपमा हेटौँडा नगरक्षेत्रको खानेपानी वितरण प्रणाली सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै