ताजा अपडेट »

‘सुडी समुदायको सशक्तीकरणका लागि नयाँ दृष्टिकोण आवश्यक’

आइतबार, १६ फागुन २०७७, १२ : ११
6 Shares

काठमाडौँ । स् सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा शनिबार आयोजित ‘सल्लाहकारको स्वागत तथा परिचयात्मक’ कार्यक्रममा समाजका सल्लाहकार विश्वनाथ साहले समाजको विकास र समृद्धिका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्ने बताए ।

अर्का सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले सामाजिक–सांस्कृतिक, राजनीतिक, नागरिक, आर्थिक, शैक्षिक विकास प्रक्रियामा यस समुदायको सहभागितालाई सुनिश्चित गरी उनीहरुलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिए। राससका पूर्वमहाप्रबन्धक एवं समाजका सल्लाहकार जयशङ्कर महतोले समाजभित्रको यथार्थलाई आत्मसात् गरेर सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सुडी समाज काठमाडौँ लाग्नुपर्ने बताए ।

समाजका महासचिव शीतलप्रसाद महतोले ‘सुडी समुदायको सशक्तीकरण, हक अधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर समाजले उत्तरदायी र सबल समाज, सदस्यको हकहित र सुरक्षा, संगठनात्मक सुदृढीकरण र संस्थागत विकासका लागि लागिपरेको बताए ।

समाजका अध्यक्ष डा अशोक महासेठका सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष इञ्जिनीयर उमाशङ्कर साह, सचिव शङ्कर साह सुडी, कोषाध्यक्ष श्रीराम पूर्वेलगायतले सुडी समुदायको अधिकार संरक्षणका लागि समाज क्रियाशील रहेको जानकारी दिए । समाजले आजै युवा र महिला उपसमितिसँग समाजकोअग्रगामी परिवर्तनका लागि आगामी दिनमा गरिने कार्यक्रमका बारे छलफल गरेको थियो ।

रासस
लेखकको बारेमा
रासस