ताजा अपडेट »

क्रिकेट खेलमैदान नहुँदा खेल खेलाउन कठिन

आइतबार, १६ फागुन २०७७, १२ : ०३
12 Shares


दमौली। तनहुँमा व्यवस्थित खेलमैदान नहुँदा क्रिकेट खेलाउन कठिनाई हुँदै आएको छ ।जिल्लाका कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान नहुँदा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको क्रिकेट खेलाउन कठिनाइ भएको हो । गत वर्षदेखि दमौलीमा परिवर्तन नेपाल तनहुँ संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष प्रवीण पौडेलले खेलमैदान नहुँदा समस्या भइरहेको बताए ।

“क्रिकेट खेलतर्फ आकर्षण बढ्दो छ तर खेलमैदान छैन, जसोतसो अहिलेकै खेलमैदानमा खेलिरहेका छौँ”, उनले भने, “व्यवस्थित क्रिकेट खेलमैदान निर्माणतर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।” गत वर्ष व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिका खेलमैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । “दमौलीमा क्रिकेटको राम्रो सम्भावना छ, तर खेलमैदान छैन”, उनले भने, “जसोतसो युवाहरु खेलिरहेका छन् ।”दमौलीमा व्यवस्थित मेलमैदान निर्माणका लागि अध्यक्ष पौडेलले व्यास नगरपालिकालाई आग्रह गरे ।

क्रिकेट शुरु

उक्त संस्थाको आयोजनामा आजदेखि व्यास नगरपालिका–५ वेनीपाटनमा क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्रिकेट खेलको प्रवद्र्धन र खेलाडीलाई हौसला बढाउने उद्देश्यसहित परिवर्तन नेपालले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

उद्घाटन खेलमा राइवल्स क्लब विजयी भएको छ । राइवल्स र वैरेनीबीच भएको खेलमा राइवल्सका विनय भण्डारीले अर्धशतक गरे । राइवल्सले १७४ रनको लक्ष्य दिएकामा वैरेनी ८५ रनमा अलआउट भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्रिकेटले देशलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पु¥याएको उल्लेख गरे । व्यास नगरपालिकामा खेलकूदका गतिविधि बढिरहेकाले यसले नगरपालिकाको सान र मान उच्च बनाएको नगरप्रमुख न्यौपानेले बताए ।

खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै उहाँले व्यास नगर अल्ट्रा म्याराथनको सफलतासँगै नगरपालिकाले महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पाटनमा निर्माणाधीन खेलकूद मैदान लागि पर्याप्त बजेटको अभावमा स्तरोन्नति गर्न नसकिएकाले यसको सुधार आवश्यक रहेको बताए । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले खेलकूदले युवालाई स्वस्थ र अनुशासित बन्न सघाउने धारणा व्यक्त गरे ।

प्रतियोगितामा विजेतालाई रु ६० हजार र उपविजेतालाई रु ३० हजार नगद प्रदान गरिनेछ । साथै म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा तनहुँका पाँच र काठमाडौँको एक टिमको सहभागिता छ । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।

सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सनाले सामुदायिक क्याम्पसमा सरकारको सहयोग अन्यायपूर्ण रहेको बताएका छन् ।तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित पब्लिक क्याम्पस सङ्घ तनहुँको बैठकमा उनले उच्च शिक्षामा ३३ प्रतिशत विद्यार्थीको भारवहन गरेका सामुदायिक क्याम्पसलाई सरकारले उपेक्षा गरेको बताए ।

सबै उच्च शिक्षाका सरोकारवालाहरुले सामुदायिक क्याम्पसका पक्षमा बोल्न लेख्न आवश्यक रहेको उनले बताए ।बैठकमा सङ्घका गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद हड्खलेले प्रदेशको गतिविधिको जानकारी गराएका थिए । बैठकमा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष-उपाध्यक्ष र प्रमुखहरुले कोरोना माहामारी पछिको क्याम्पस सञ्चालनका आर्थिक, भौतिक र शैक्षिक चुनौतीहरू प्रस्तुत गरेको थिए ।

बैठकले आगामी चैत्र २१ गते जनज्योति क्याम्पस भिमादमा जिल्लाका सामुदायिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक सङ्घका एकाइ अध्यक्षको सहभागिता रहने गरी सङ्घको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै वैशाखको पहिलो साता सामुदायिक क्याम्पसमा स्थानीय तहको आर्थिक सहायता वृद्धि गर्न तनहुँका स्थानीय तह प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखको सहभागिता हुने गरी गोष्ठि आयोजना गरिने भएको छ ।

रासस
लेखकको बारेमा
रासस