ताजा अपडेट »

राष्ट्रपतिको तदारुकता: विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

आइतबार, १६ फागुन २०७७, ०७ : २५
2 Shares

काठमाडौं । सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । 

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उनी मौन छिन् ।

हिजो शनिबार भएर अधिवेशनको आह्वान नभएको हो कि भन्ने हो भने पनि राष्ट्रपतिले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना भने गरेकी छन् । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे ‘ढिलाइ गर्दा जनतालाई शंका हुने भएका कारण शुक्रबार नै नभए शनिबार भए पनि अधिवेशनको आह्वान गरिदिँदा उपयुक्त हुने थियो’ भन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नका लागि सिफारिस गर्दा राष्ट्रपति भण्डारीले केही मिनेटमा नै सिफारिसबमोजिमको कार्य गरेकी थिइन् ।सर्वोच्च अदालतको आदेशबमोजिम सरकारले दुवै सदनको नभई प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्नेछ । दुई सदनसहितको एक संघीय व्यवस्थापिका भए पनि सरकारले सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्ने देखिएको हो । आदेशमा दुवै सदन वा संघीय संसद् भनिएको छैन । केबल प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउन भनिएको छ ।

नेपालको संविधानबमोजिम दुवै सदनमध्ये कुनै एकको मात्र पनि अधिवेशन बोलाउन मिल्ने देखिन्छ । संविधानको धारा ९३ को उपधारा (१) मा उल्लेख छ–‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछन् । त्यसपछि यस संविधानबमोमजि राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछन् ।’

संविधानमा नै एउटा मात्र सदनको पनि अधिवेशन बोलाउन सकिने गरी उल्लेख भएको र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बेला राष्ट्रिय सभाको मात्र अधिवेशन बसेकाले पनि सर्वोच्चले प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउने गरी आदेशमा उल्लेख भएको हुनसक्ने सर्वोच्च बारका सचिव घिमिरेले बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।