ताजा अपडेट »

बुटवलमा चौथो खुल्ला लन टेनिस प्रतियोगिता

शुक्रबार, १४ फागुन २०७७, ११ : ०६
2 Shares

बुटवल । बुटवलमा शुक्रबारदेखि खुल्ला लन टेनिस प्रतियोगिता सुरु भएको छ । कोभिड–१९ को महामारीपछि खेलकूदका गतिविधि बढिरहेका बेला चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता–२०७७ शुरु भएको हो ।

एक समारोहका बीच नगरप्रमुख शिवराज सुवेदीले प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटन गर्दै नगर खेलकुद विकास गठन गरि नगरका सबै खेल गतिविधिलाई ब्यवस्थापनका काम अघि बढाएको बताए । नगरमा खेलकूद विकासका लागि विभिन्न स्थानहरुमा राष्ट्रिय स्तरका सुविधासम्पन्न रङ्गशालाहरुको निर्माण भइरहेको बताए ।

नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड–१९ को संक्रमण कम भैरहेको बेला देशमै पहिलो बुटवलमा खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम भएको बताईन् । यस्तै नेपाल ओलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक, भौतिक कठिनाई रहने भएको भन्दै यस क्षेत्रको प्रतिष्ठित तिलोत्तमा गोल्डकप आयोजनामा समस्या भएको दुखेसो गरे । खेलकुद आयोजनाका लागि स्थानीय सरकारको मुख्य सहयोग जरुरी रहेको बताए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले नगरभित्रका खेलकुद पुर्वाधार विकासमा लागेको बताए । कार्यक्रममा काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई रुपन्देही जिल्ला लनटेनिस संघले नगदसहित सम्मान गरेको छ । मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देही जिल्लालाई एक बकेट बल हस्तान्तरण गरेका छन् । संघका अध्यक्ष संजय श्रेष्ठले खेलाडी र खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता निरन्तरता दिन सफल भएको बताए ।

पहिलो दिनको उद्घाटन खेलमा खुल्लातर्फ पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६-०,६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो खेलमा खेलमा पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बश्याललाई ६-०,६-० ले पराजित गरेका छन् । चार दिनसम्म चल्ने प्रतियोगितामा सिङ्गलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएको संघका सचिव तथा खेल संयोजक गोपाल ज्ञवालीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।