ताजा अपडेट »

ई-चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर

शुक्रबार, १४ फागुन २०७७, ०७ : ३२
10 Shares

काठमाण्डौं । युवा वर्गमा ई-चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।

युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीले बताए । पछिल्ला केही अध्ययनले ई-चुरोटको सेवनकै कारण पनि किशोरकिशोरीको मृत्यु हुने गरेको पाइएको उनले जानकारी दिए ।

डा. कार्कीले भने, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।” सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ अथवा ई–चुरोटको प्रयोग नगर्न सुझाव दिँदै उनले ई–चुरोटमा निकोटिनको मात्रा बढी हुने भएकाले अरू चुरोटमा हुने हानिकारक तत्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्ने जानकारी दिए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले कुनै पनि सुर्तीजन्य वस्तुहरूले मुटुमा असर गर्ने स्पष्ट गर्दै ई–चुरोट पिउनेहरूमा हृदयाघातको सम्भावना ५६ प्रतिशत बढी रहने जानकारी दिए। उनले लामो समयसम्म विद्युतीय चुरोट पिउनेहरूमा रगतसँग सम्बन्धित समस्या देखिनुका साथै चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले रक्तचापमा गडबढ गर्ने बताए ।

सामान्य चुरोट छोड्नका लागि भेप प्रयोग पनि गर्ने गर्छन् तर भेप प्रयोग गर्नु भनेको गलत बुझाइ हो भन्दै डा. कोइरालाले भने, “यो विभिन्न रासायनिक तत्वको मिश्रणबाट बन्ने भएकाले यो पनि उत्तिकै हानिकारक छ । परम्परागत चुरोट र ई-चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानि हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार ई-चुरोटमा पनि अरू चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुने गर्छ । यसले फोक्सोका कोषलाई नष्ट गर्छ ।

संयुक्त राज्य अमेरिकाले सुगन्धित ई-चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाएको छ । परम्परागत चुरोटमा पाइने सात हजार किसिमका रसायन ई-चुरोटमा नहुने भए पनि केही तत्व निकै हानिकारक पाइएका छन् । -गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।