ताजा अपडेट »

‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’

बुधबार, १२ फागुन २०७७, १७ : ५१
4 Shares

रुपन्देही। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय बाहिर आएसँगै सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् ।आज बुटवलमा आयोजित कार्यक्रममा उहाँहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी घिमिरेले सर्वोच्चको फैसलाले केही प्रश्न खडा गरे पनि पार्टीले स्वीकार गरेको बताए। “सर्वोच्चको फैसलाले जनताको सार्वभौम सत्तालाई चुनौती दिएको छ, यो परिस्थितिले सिर्जना गरेको बाध्यात्मक कदम हो, हामी स्वीकार गर्छौं”, रिपोटर्स क्लब लुम्बिनी प्रदेशद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “तर यो शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ ।” नेता घिमिरेले संसद् बैठक डाक्ने कुरा संसदीय प्रक्रिया भएको जनाउँदै यसमा सर्र्वोच्चले आदेश दिनु नपर्ने उल्लेख गरे।

नेकपा दाहाल–नेपाल समूहका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले सर्वोच्च अदालतको फैसलाको सबैले सम्मान गर्नुपर्ने बताए । “प्रतिनिधिसभा विघटन संविधान सम्मत थिएन, आगामी दिनका लागि यो नजीर स्थापित हुनेछ”, उनले भने, “सबैतिरबाट विरोध भएका कारण अदालतको यो फैसला आएको हो तर, यसलाई जित र हारको विषय बनाउन जरुरी छैन ।” ठूला दल फुट्दा मुलुकको राष्ट्रियता कमजोर हुने भएकाले नेकपा एकता र सहमतिका आधारमा अघि बढ्ने बताउँदै उनले मुलुकको समृद्धिका लागि नेकपाबीचको असझमदारी अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गरे । “प्रतिनिधिसभा विघटन हुँदा सङ्घीय व्यवस्थामा नै असर परेको थियो”, उनले भने, “नेकपाको आन्तरिक समस्याका कारण देशलाई बन्धक बनाउन पाइँदैन ।”जनता समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको बताए । “सबै दलले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, जनमतको कदर गर्नुपर्छ”, उनले भने।

बार एशोसिएशन उच्च अदालत एकाइ बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले सर्वोच्चको फैसलाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताउँदै आगामी दिनमा पनि न्यायपालिकाको गरिमा कायम राख्न सक्नुपर्ने उल्लेख गरे । कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमाकान्त पौडेलले संविधानको मर्म भावनाअनुसारनै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मङ्गलबार बदर गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर हुने फैसला गरेको हो ।

रासस
लेखकको बारेमा
रासस