ताजा अपडेट »

सभा छाडेर काठमाण्डौं फर्के अध्यक्षद्वय

बुधबार, १२ फागुन २०७७, १३ : ५९
4 Shares

चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाण्डौं फर्केका छन् । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार यस कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी प्रचण्ड र नेपाल काठमाडौँ फर्केका हुन । उनीहरु आज बिहान १०:४५ बजे जहाजबाट गएको उनले जानकारी दिए । काठमाण्डौंमा विभिन्न महत्वपूर्ण भेटघाटहरु गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्केको अधिकारीले बताए ।

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दै छन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

रासस
लेखकको बारेमा
रासस