ताजा अपडेट »

राकम अस्पतालका लागि २८ रोपनी जग्गादान

मंगलबार, ११ फागुन २०७७, १५ : ०२
8 Shares

कर्णाली । दैलेख आठबिस नगरपालिका–३ कुमालखाँडावासीले १०० श्ययाको अस्पतालका लागि २८ रोपनी जग्गादान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्तरुपमा व्यवस्थापन हुने १०० श्ययाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयवासीले २८ रोपनी जग्गादान गरेका हुन् । ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकामा २८ रोपनी नि:शुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिए ।

“प्रतिष्ठान र नगरपालिकाको पहलमा यही फागुन १० गते जग्गादान गर्नेहरुबाट अस्पतालका नाममा जग्गा पारित भएको छ”, निर्देशक गोसाईंले भने, “प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिइरहेको छ ।” जुम्ला प्रतिष्ठानले विशेषज्ञ अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालिएको उनले बताए ।

निर्देशकका अनुसार राकम कर्णालीमा अस्पताल निर्माणार्थ डिपिआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालू आवमा रु एक करोड बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो । राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका गगन कार्कीले जानकारी दिए । कार्कीले अस्पतालका लागि अब १३ रोपनी एकजना व्यक्तिले नि:शुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताए ।

उनका अनुसार पदम बडुवाल, पहराम, मदन, मन परे कार्कीलगायत व्यक्तिले जग्गदान गरेर यस क्षेत्रका नागरिकहरुका लागि ठूलो योगदान दिएका छन् । यता नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख देवराज तिमिल्सेनाले अब सानो रोग लागेर सुर्खेत नेपालगञ्ज जाने बाध्यताबाट यहाँका नागरिकहरुले मुक्ति पाउने बताए । केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तरीय स्वास्थ्य उपचार सेवा लिन पाउने उनको भनाइ थियो । अस्पताल निर्माण हुँदै गरेको राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।

रासस
लेखकको बारेमा
रासस