ताजा अपडेट »

शाइनरेसुङ्गा बैंक १३औं वर्षमा : बैंकिङ क्षेत्रसँग प्रतिष्पर्धा गर्ने

सोमबार, १० फागुन २०७७, १६ : ४९
6 Shares

बुटवल । शाइन–रेसुङ्गा विकास बैंक लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । बुटवलमा केन्द्रिय कार्यालय भएको राष्ट्रिय बैंकले १२औं वर्ष पार गरी १३औं वर्षमा प्रवेश गरेको हो । १३ वर्ष प्रवेको अवसरमा सोमबार पत्रकार सम्मेलन गरी बैंकले आफ्ना गतिविधि,प्रगति तथा योजना बारे सार्वजनिक गरेको हो । बैंकले बुटवल स्थित नवनिर्मित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले आगामी दिनमा समग्र अथतन्त्र तथा बैंकिङ्ग क्षेत्रसँग प्रतिष्पर्धा गर्ने योजना रहेको बताए । उनले भने ‘हामीले विभिन्न चरण पार गरेर राष्ट्रिय स्तरको विकास बैंकका रुपमा स्थापित भएका छौं । देशभर रहेका ९० वटा विकास बैंकबाट १८ हुँदै घट्ने क्रममा हामी प्रदेशबाट एक्लै स्थापित भएका छौं । अबको हाम्रो योजना र प्रतिष्पर्धा भनेको समग्र वित्तिय क्षेत्रसँग हुनेछ । र, हामी सोही अनुसार अगाडि बढ्दैछौं ।’

वि.सं.२०६५ साल फाल्गुण ११ गते तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा स्थापित बैंक हाल लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पूँजी,शाखा,ग्राहक र ऋणि भएको बैंकका रुपमा अग्रस्थानमा रहेको बैंकका कार्यकारी अधिकृत पौडेलले बताए । त्यसैगरी रु ६ करोड लागतबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी रु ३ अर्ब,४० करोड,जगेडा कोष रु ७२ करोड र कूल पूँजी रु ४ अर्ब १२ करोड रहेको बैंकका कार्यकारी प्रमुख पौडेलले जानकारी गराए ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले समय सापेक्ष सुविधा प्रदान गर्दै प्रविधिमैत्री सेवालाई पनि विस्तार गर्दै अघि बढ्ने बताए । ‘समुदाय स्तरबाट बैंकको स्थापना गरेका हौं । यसको विकास र विस्तारमा समुदायको योगदान रहेको छ । बैंकलाई सबैको र सहज बनाउन समय सापेक्ष प्रविधिमैत्रीका साथै सहज र सरल तवरले सेवा प्रदान गर्ने हाम्रो योजना अनुसार अगाडि बढेका छौं ।’उनले भने।

लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा रहेको बैंकका अन्य विभिन्न प्रदेश तथा स्थानमा गरी ७३ वटा शाखाहरु रहेका छन् । काठमाण्डौंमा ३ वटा शाखा सञ्चालन गर्ने तयारी गरेको छ भने पोखरा,धनगढी र महेन्द्रनगरमा पनि छिट्टै शाखा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृतसहित जम्मा ११ जनाबाट सुरु भएको बैंकमा हाल जम्मा ७७४ जना कर्मचारी रहेका छन् । बैंकले निक्षेप जम्मा,लगानीका साथै अनुदान,सामाजिक दायित्व,वातावरण संरक्षण,डिजिटल बैंकिङ्ग लगाएत विभिन्न क्षेत्रमा काम गर्दै अघि बढेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।