ताजा अपडेट »

नेकपा विवादले देश सङ्कटमा पर्याे महामन्त्री सिंह

सोमबार, १० फागुन २०७७, १३ : ५७
4 Shares

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए ।

“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्यो ।” धर्मनिरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने । सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरे ।

रासस
लेखकको बारेमा
रासस