ताजा अपडेट »

सी समुदायमा नयाँ वर्षको उल्लास

सोमबार, १० फागुन २०७७, ११ : ३८
18 Shares

दार्चुला। दार्चुलामा मात्रै बसोबास रहेको यहाँका व्यासी सौका समुदायले नयाँ वर्ष आरम्भ भएको खुशीयालीमा गवला पर्व मनाएका छन् । व्यास गाउँपालिका–१ छाङ्गरुका स्थानीयवासीले आजको दिनमा गवला पर्वलाई मुख्य चाडपर्वका रुपमा मनाउने गर्छन् ।

हिन्दू समुदायमा दशैँ, तिहार जस्तै व्यासीहरुले गवला पर्वलाई मुख्य चाडपर्वका रुपमा मनाउने गर्छन् । गत मङ्सिरमा व्यासी सौका समुदाय खलङ्गा बसाइँसराइ ९कुञ्चा सरेपछि उनीहरुले गवला पर्व मनाउने चलन छ । बसाइँसराइ गरेको अवधिभर पाँचपटक यो पर्व मनाउने गरिएकामा आज मनाइएको गवला पूर्व सौका समुदायको मुख्य पर्व रहेको व्यासी सौका समाजका पूर्वअध्यक्ष एवं छाङ्गरुका स्थानीयवासी ललितसिंह बोहराले बताए।

गवला भनेको नयाँ वर्ष हो । नयाँ वर्ष शुरुआत पहिले नै भइसके पनि छाङ्गरुवासीले अहिले खुशियाली मनाउँछन् । टाढाटाढा गएका व्यक्तिहरु पनि गवला मनाउन घर फर्किन्छन् । यो पर्वमा आफन्त इष्टमित्रसँग भेटघाट गर्ने तथा सुख दुःख बाँड्ने चलनका रुपमा रहेको पाइन्छ । यो पर्वमा विभिन्न मीठामीठा खानेकुरा पकाउने र समुदायका सबैलाई दिने चलन रहेको स्थानीयवासी कञ्चन ह्याकी बताउछन् ।

उनले भने, “सबैले सबैको घरमा बोलाएर आफ्नो कुलदेवता पुजेर प्रसाद ग्रहण गर्ने गरिन्छ । “घबलाको बेला सौका समुदायले जौ उवाबाट बनेको सातुबाट दलाङ ९ मूर्ति बनाउने गर्छन् । यसलाई उनीहरुले जौबाट बनेको रक्सीले पूजा गर्ने चलन छ । पुरानो अनाज जम्मा गरेर परिकार बनाइन्छ । घरघरमा रमाइलो गर्ने चलन छ । गवला पुरानो देवता भएको कारण कान कम सुन्ने किंवदन्ती छ”, बोहरा भनछन् ।

सोही किंवदन्तीअनुसार गवला पर्वमा व्यासीहरुले थाल झ्याली बजाउने गर्छन् । शान्ति कायम होस्, भगवान्ले सबैको रक्षा गरून् भन्ने उद्देश्यले पूजापाठ गरी देवतालाई खुशी बनाउने गरिन्छ । थाली बजाएपछि घवला देवताले सुनोस् भनेर सबैले बजाउनुपर्ने हुन्छ ।

व्यासीहरु बसाइँ सरी पुनः बैशाखमा छाङ्गरु तिङ्कर उक्लिँदा पनि गवला मनाउने गर्छन् । यो पर्वमा युवाहरुले देउसी, भैलो खेलेर पर्व मनाउने गरिन्छ । व्यासका स्थानीयवासी विमल बोहरा भन्नुहुन्छ, ‘‘यो पर्वमा आफ्नै समुदायको घरघरमा गएर युवा पिँढीले भैलो माग्ने गर्छन् ।’’

परम्परागतरुपमा मनाउँदै आएको गवला पर्व देउताका नामले पूजापाठ तथा देउसी, भैलो खेलेर मनाउने चलन हो । अन्य समुदायले तिहारका बेला खेल्ने देउसी, भैलो सौका समुदायले गवला पर्वका अवसरमा खेल्ने गर्छन् । विशेषगरी व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासीले फरकफरक समयमा गवला पर्व मनाउने गर्छन् ।

दुवैको देवता समान र पूजापाठ गर्ने चलन एउटै भए पनि मनाउने समय मात्रै फरक भएको बोहरा बताउछन् । यो पर्व मनाएपछि मात्रै विवाहलगायत शुभकार्यहरुको थालनी गर्ने परम्परा रहेको व्यासीहरुको भनाइ छ । यो पर्वका अवसरमा पूजापाठ गरेर आफ्ना इष्टमित्रहरुलसँग जमघट भई मीठामीठा परिकारहरु खाएर मनाइन्छ भने विवाहित छोरी चेली आजको दिन माइत जाने चलन छ । दार्चुलाको व्यासीहरुको भिन्न संस्कृति पनि छ । संस्कृतिका धनी मानिने व्यासी सौकाहरुले आ–आफ्नो संस्कृति संरक्षणका लागि एकजुट हुने गर्छन् ।

रासस
लेखकको बारेमा
रासस