ताजा अपडेट »

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

सोमबार, १० फागुन २०७७, १० : २१
10 Shares

काठमाण्डौं । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुई महिना लाग्छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय गरिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो । मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, “यसलाई पुनः परीक्षणका रूपमा लिइएको छ । विगतमा परीक्षण गर्दा दुर्घटना भयो, अहिले पुनः निर्माण गरी पथान्तरण गरिम्दै छ । विज्ञ समूहको अनुगमनले दिएका सुझावअनुसार थप काम गरेर परीक्षण गर्न लागेका हौँ । प्राविधिक रूपमै करिब दुई महिना परीक्षणको समय लाग्छ, त्यसपछि सुन्दरीजलमा पानी ल्याउन सकिन्छ । ”

गत असारमा पानी पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । आयोजनाले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरेको हो । हेडक्रस निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको प्रवक्ता शाक्यले जानकारी दिए । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ ।

काठमाण्डौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौँ उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुग रहेको छ । -गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।