ताजा अपडेट »

अब ४० लाखलाई खोप, फागुन २३ देखि समुदायलाई

सोमबार, १० फागुन २०७७, ०७ : ३४
10 Shares

काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । हाल टेकुस्थित कोल्ड रुममा राखिएको खोप आवश्यकताअनुसार प्रदेशमा पठाइनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पुर्‍याइनेछ । अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन् ।

‘५५ वर्षमाथिलाई खोप दिन तयारी गर्दै छौं,’ मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले कान्तिपुरसँग भने, ‘खोप लगाउने अभियान चलेकै बेला बाँकी १० लाख मात्रा पनि आइपुग्नेछ ।’ यसअघि भारत सरकारद्वारा अनुदानमा प्राप्त १० लाख मात्रामध्ये हालसम्म सरकारसँग करिब ५ लाख मात्रा खोप बाँकी छ । ‘कोभाक्स सुविधाअन्तर्गतको निःशुल्क खोप पहिलो चरणमा फेब्रुअरीको अन्त्य वा मार्चको सुरुतिर आइपुग्नेछ,’ गौतमले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।