ताजा अपडेट »

पालो मिच्दै अर्यालको उम्मेद्वारी, कसजुको पक्षमा हमाल

आइतबार, ०९ फागुन २०७७, १७ : ३३
6 Shares

बुटवल । यस क्षेत्रकै पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघमा चुनावी सर्गर्मी बढेको छ । सोमबारदेखि फागुन १३ गतेसम्म हुन लागेको संघको ६७ औं साधारणसभा तथा २४ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । यसै बीच संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले आगामी नेतृत्वमा अध्यक्ष पदका लागि दाबी पेस गरेका छन् ।

आफ्नो नेतृत्वमा रहेर संघले गर्ने आगामी योजनाहरु सार्वजनिक गर्दै उनले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफू अध्यक्ष बन्न सक्ने आधारहरु प्रस्तुत गरेका छन् । संघको कार्यसमिति तथा महासचिव हुँदै वाणिज्य उपाध्यक्षका रुपमा रहेका आर्यालले नयाँ बन्ने नेतृत्वमा अध्यक्ष पदका लागि संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहने दाबी गरे । चुनावी प्रतिस्पर्धामा गएर भएपनि अध्यक्ष बन्ने बताउँदै उनले त्यसका लागि आफू बलियो रहेको बताए । संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले पनि अध्यक्ष पदका लागि दाबी गरिरहेका बेला निर्वाचनमा गए पनि आफ्नो पक्षमा मत प्राप्त हुने अर्यालको दाबी छ ।

संघको अधिवेशनमा सर्वसहमतीमा नेतृत्व चयनका लागि पहलहरु भए पनि आफूले अध्यक्ष पदको दाबेदारी नछाड्ने अडान राख्दै उनले त्यसको तयारीमा लागेको बताए । ‘१६१३ जना सदस्य रहेको संघमा करिब ६० जनाको दोहोरो सदस्यता भएको र उनीहरुले एक ठाउँमा मात्रै मत हाल्न पाउँछन् । यसरी खस्ने मतमा मैले अरिब ८ सय मत प्राप्त गर्ने पक्का छ ।’-आफूले अध्यक्ष पदमा जीत हासिल गर्ने आधार पेस गर्दै उनले भने ।

बुटवलको प्रमुख व्यवसायिक क्षेत्र सिद्धार्थ राजमार्गको सर्भिस लेनलाई व्यवसाय मैत्री बनाउने, योगीकुटीदेखि सब्जीमण्डीसम्मको बाइपास सडकलाई छिटो सम्पन्न गर्नका लागि दबाब सिर्जना गर्ने, राजस्व अनुसन्धान तथा आन्तरिक कर कार्यालयको सुविधालाई व्यवसायी मैत्री बनाउन पहल गर्ने लगायतका आधादर्जन बढी योजनाहरु सार्वजनिक गर्दै उनले आफूलाई अध्यक्षको दाबीदारी पेस गरेका छन् ।

यसैबीच संघका वर्तमान अध्यक्ष खेमबहादुर हमालले भने संस्थाको विगतका अभ्यास र नियमानुसार उज्जवल कसुजुलाई नै पूर्व अध्यक्षहरुको समर्थन रहने बताएका छन् । ग्लोबल आवाजसँगको कुराकानीमा उनले अध्यक्षका आकांक्षी अर्यालाई वरिष्ठ उपाध्यक्षमा रहन आग्रह गर्दै त्यसका लागि सबैको समर्थन रहने बताए । संस्थाको नियमानुसार हालका वरिष्ठ उपाध्यक्ष कसजुनै आगामी नेतृत्वका लागि अध्यक्ष रहने बताउँदै उनले चुनावी प्रक्रियामा गएको अवस्थामा समेत कसजुलाई पूर्व अध्यक्षहरुको समर्थन रहने दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।