ताजा अपडेट »

‘अधिकार उपयोग गर्ने मूल गेटमा महिलालाई ताल्चा’

आइतबार, ०९ फागुन २०७७, १६ : ३२
2 Shares

पोखरा । राज्य प्रणालीबाट अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो गरिएको छ । अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखिएको छ ।

नेत्री डा. विन्दा पाण्डे आमाका नामबाट नागरिकता दिने विषयमा राज्यबाट भएको विभेदप्रति असन्तोष व्यक्त गरे । “राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ । नागरिकताविना केही हुँदैन तर त्यहीभित्र पस्ने मूल गेटमा ताल्चा लगाइएको छ । अब त्यसभित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छन्” उनले भने । आमाका नामबाट नागरिकता दिने स्थानमा लैंङ्गिक संवेदनशीलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइलापाइलामा विभेदको सामना गर्नुपरेको धारणा उनको छ ।

“नागरिकता पहिचान गर्ने अधिकार पुरुषमा हुनु र पुरुषको सहयोग लिनुपर्ने प्रावधानले महिलालाई सधैँ आश्रित रुपमा राखिएको छ”, पूर्वसांसद डा. पाण्डेले भने, “नागरिकतामा राज्यले विभेद गरेको र पैत्रिक सम्पत्ति, आर्थिक अधिकारमा घरदेखि नै जन्मदिने आमाबुबाबाटै विभेदको सामना गर्नुपरेको छ ।” पैत्रिक सम्पत्तिमा आफ्नै आमाबुबाले छोराछोरीमा समान सोच राख्न नसकेको जनाउँदै उनले बनेका कानूनका बारेमा पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरै महिला आफ्नो अधिकारका बारेमा नै अनभिज्ञ रहेको बताए । नेत्री विद्या भट्टराई प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताए । “राज्यको सहयोग गर्ने प्रणाली भत्किएको छ तर नयाँ सहयोग गर्ने प्रणाली निर्माण हुन सकेको छैन, प्रणाली परिवर्तन भयो तर प्रवृत्ति उस्तै छ ।”

उनले लोकतन्त्रका धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले महिलाको एकीकृत शक्तिको खाँचो औँल्याउए । निवर्तमान सांसद भट्टराईले भने,“महिला विकासका लागि महिलाको साझा मुद्दा र समस्यामा सङ्गठित र एकीकृत आवाजको आवश्यकता हुन्छ, यसले चुनौतीमा जुध्ने शक्ति प्रदान गर्छ भने कानूनमा लेखिएका कुरालाई कार्यान्वयनमा जान सहयोग पुग्छ ।” नेत्री भट्टराईले महिलाको मर्यादा र सामाजिक मूल्यको व्याख्या यौनसँग जोड्नु नै तिनलाई कमजोर बनाउने हतियार भएको बताए । उनले भने, “महिला यौनिकतामाथि प्रश्न गर्न नसक्ने हुनु नै मर्यादित हुनु हो भनेर चित्रित गरिँदा आज महिलालाई यौनिकता आधारमा आरोप लगाउने गलत संस्कारको विकास भएको छ ।”

यौन महिलाको मातृशक्तिसँग जोडिएको शक्तिशाली पक्ष भए पनि तिनलाई कमजोर बनाउन चरित्रको अस्त्रका रुपबाट प्रहार गर्ने गरिएको उनको भनाइ छ । उनले महिलाले बाहिर आफ्नो भूमिका खोज्न थालेमा अनेक प्रश्न उठ्ने र विविध खालका दृष्टिकोणले हतोत्साहित गर्ने गरिएको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सबल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको औँल्याए । उनले महिलाले आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको बताए । ओटेफले शनिबार ‘समृद्धि र लैंङ्गिक न्याय’ विषयमा विचारगोष्ठी आयोजना गरेको पनि थियो ।

रासस
लेखकको बारेमा
रासस