ताजा अपडेट »

कान्ति राजमार्ग चालू आवभित्रै कालोपत्र सकिने

आइतबार, ०९ फागुन २०७७, १५ : ०८
6 Shares

काठमाण्डौं । काठमाण्डौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताए । उनले भने, “अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।” पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताए ।

नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उनले जानकारी दिए । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उनले भने, “एक किमी कालोपत्र गर्दा रु एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पुर्याएर छाडिनेछ ।”

विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले छ महिना अवधि थपिएको योजनाले जनाएको छ । चालू आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए ।

कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भए पनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताए । चालू आवमा कालोपत्र गर्ने भनिएको १० किमी सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको छ । गत आवमा १५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइए पनि साढे आठ किमी कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजनाले जनाएको छ ।

सडकको रेखाङ्कनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले जानकारी दिए । सडकको ट्र्याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।

साढे नौ मिटर चौडाइको सडकमा सात मिटर सडक तथा साढे दुई किमी नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै सो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या छ । पहिले सहायक सडक (फेदर रोड) का रुपमा रहेकामासरकारले गत आवमा राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१/३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको सूचना अधिकारी रजकले बताए । अहिले तत्कालका लागि सडकको चौडाइ बढाउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिने उनले बताए । उनले भने, “अहिले निर्माणस्थल खाली गराउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिँदैछ ।”

गत वर्षसम्म ९० किमी लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किमी छ । राजमार्गको शुरुविन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छन् ।

निर्माण शुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता वर्षेनी राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।

निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाण्डौंसम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाण्डौं आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरतर्फ करीब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई/मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौँ–तराई/मधेश दु्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।

रासस
लेखकको बारेमा
रासस