ताजा अपडेट »

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह

आइतबार, ०९ फागुन २०७७, १३ : ००
2 Shares

मोरङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेको छ । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए। उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे ।

उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई विजयी बनाउनुपर्नेमा जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुर्याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफूले पाउनुपर्छ भन्नु हठपना मात्र भएको तर्क गरे ।

नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताए । संसद् पुन:स्थापना भए देशमा अस्थिरता उत्पन्न भइ सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ”, उनले भने, “त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुन:पार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचिनमा विजयी गराएर लगाएको धागो नटुटाउन अनुरोध गरे ।

नयाँ जनादेशमा देश अगाडि बढ्यो स् गृहमन्त्री थापा

नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताएका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उनले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे ।

कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असमान्य भएको उल्लेख गर्दै उनले मुलकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सोविरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धि, राजनीतिक स्थायित्वका लागि नयाँ निर्वाचनको लागि संसद् विघटन गरेको दाबी गर्दै गृहमन्त्री थापाले भने, “नयाँ जनादेशका लागि जनतासमक्ष जानु लोकतान्त्रिक र अग्रगामी कदम हो । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न मेची महाकाली अभियान शुरु गरिएको हो ।”

विगत तीन वर्षमा सरकारले राष्ट्रिय एकता र अखण्डता सुदृढीकरण गरेको चर्चा गर्दै उनले राष्ट्रिय राजनीतिबाट बाहिर रहेका राजनीतिक दललाई मुलधारमा ल्याएको उल्लेख गरे। उनले नेकपाको नेतृत्वलाई मुलुकको विकास र समृद्धिका लागि विजयी गराउन सबैलाई आग्रह गरे ।

जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए । उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ्गले आगामी निर्वाचनलाई जानताले अनुमोदन गरेको बताए । उनले तराई, मधेश, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे । ‘जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ भन्दै उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वोच्च अदालतको फैसला आउने बताए ।

भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताए ।

रासस
लेखकको बारेमा
रासस