ताजा अपडेट »

घुस लिएको अभियोगमा पक्राउ

आइतबार, ०९ फागुन २०७७, १२ : ४२
4 Shares

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस