ताजा अपडेट »

महिलामाथि कुकुर लगाएपछि २ घण्टा सुनौली नाका ठप्प

शनिबार, ०८ फागुन २०७७, १६ : ५१
48 Shares

भैरहवा । रुपन्देहीको नेपाल-भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध गरेबम छन् । भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले आज दिउसो सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् । भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिएपनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि विरोधमा उत्रिएको उनीहरुले बताए ।

भारत तर्फ किनमेलको लागि आएका नेपालीहरुलाई एसएसबीले सीमा पारी जान दिएको थिएन । बुटवलबाट किनमेल गर्न आएकी मुना भण्डारीले चेकजाँचको लागि लाईनमा बस्दा एसएसबीका सुरक्षाकर्मिले आफूलाई अभद्र व्यवहार गर्दै उनिहरुको तालीम प्राप्त कुकुर छोडी दिएको गुनासो गरिन् । एसएसबीले ज्यादती गरेको यो पहिलो पटक भने हैन । सीमामा एसएसबीको ज्यादती बारे यस अघि पनि कुरा उठ्दै आए पनि नेपालीहरु सहेर बसेका थिए । शनिबार महिला माथी कुकुर नै छोेडे पछि नेपालीहरुको धैर्यले जवाफ दिएको हो । उनिहरुले नेपाल तर्फ ईलाका प्रहरी कार्यालय बेलहिया अगाडी रहेको ब्यारिकेटर झारेर अन्तराष्ट्रिय नाका ठप्प बनाएका थिए ।

यस अघि भारतकै ब्यपारीहरुले एसएसबीको ज्यादती बढ्दै गएको बिरोधमा दशगजामा एसएसबी विरुद्ध नै प्रदर्शन गरेका थिए । दशगजामै बसेका एसएसबीले नेपालबाट भारत जाने नेपालीहरुलाई बिभिन्न बहानामा दुःख दिने गरेका छन् । कोरोना समयमा बन्द भएको नाका अहिलेसम्म सुचारु हुन सकेको छैन । त्यसैको बहाना बनाउदै एसएसबीले मन लागेको बेला जुन सुकै नियम बनाउँदै नेपालीलाई दुःख दिने गरेका गुनासो बढ्दै गएको छ ।

शनिबार भएको विरोध प्रदर्शनमा नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाकामा उत्रिएपछि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको थियो । नेपाल प्रहरीका डिएसपी सत्य नारायण थापाको कमाण्डमा नेपाल प्रहरीका साथै बाक्लो संख्यामा शसस्त्र प्रहरी खटिएका थिए । उता भारत तर्फ पनि एसडिएम कोतवाली प्रमुखको कमाण्डमा टोली खटिएको थियो ।

एसएसबीका कमाण्डेन्ट सञ्जय कुमारले अबदेखी एसएसबीले गुनासो गर्ने मौका नदिने मौखिक रुपमा प्रतिवद्धता जनाएपछि नेपाली प्रर्दशनकारी शान्त भएका थिए । करिब २ घण्टाको प्रदर्शनपछि दिउसो करिब ३ बजे उनिहरुले नाका छोड्दै आवागमनलाई सहज बनाएका थिए ।

https://www.globalaawaj.com/archives/83508
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा